बिजय भुसाल
बुधबार ३० सेप्टेम्बर युएई। बिगत सात महिनादेखि युएईमा अलपत्र नेपालीहरुको लागि सहयोग जुट्न सुरु भएको छ। केही दिन अगाडि डिसी नेपालले उनीहरु भोकै रहेको र गैरआवासीय नेपाली संघ युएईले पनि साथ छोडेको शिर्षकमा डिसि नेपालले प्रसारण गरेको थियो।
डिसी नेपाल बाट उक्त रिपोर्ट आएसँगै युएईमा समस्यामा परेका नेपालीका लागि प्रवासी नेपाली हरुको निम्ति सक्रिय रूपमा काम गर्दै आए्को नेपाली मजदुर एकता समाज मार्फत युएईमै कार्यरत रहेकी सुबी बुढाथोकीले एक हप्तासम्म पुग्ने खाद्यान्न पीडितहरु लाई आफै गएर सहयोग हस्तान्तरण गरेकी हुन ।
त्यस्तै वैदेशिक रोजगारीको सिलसिलामा युएईमै रहेका नवीन बज्राचार्यले एकजनाको टिकट खरिद गर्न पुग्ने गरि १५ सय दिराम आर्थिक सहयोग गरेका छन्। समस्यामा रहेका नेपालीहरु लाई दुई ठाउँमा रहेका भए पनि अहिले सबै जना उत्तम भण्डारीले आफ्नो कोठामा आश्रय दिदै आएका छन्।
फ्लेक्स फेसिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत १७ जना अलपत्र नेपालीहरु ओभरस्टे जरिवाना तिर्न नसकी १० अगस्टमा एयरपोर्टबाट फिर्ता भएका थिए। गैरआवासीय नेपाली संघ युएईले खान र बस्नको लागि सहयोग गर्दै आएको थियो तर अन्तिम समयमा आएर गैरआवासीय नेपाली संघ युएईले पनि सधैं सहयोग गर्न नसक्ने भन्दै उनीहरुको साथ छोडेको अलपत्र परेका पीडित नेपालीहरूले बताएका छन ।
युएई स्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघ युएई र युएईमा रहेका अन्य विभिन्न नेपाली संघ सस्थाहरुले पीडित नेपालीहरुलाई नयाँ काममा लगाइदिने बताएसँगै कामका लागि पनि ७ जना तयार भएका थिए।
तर नयाँ काममा लगाइदिने भने पनि कामको लागि कुरा गर्न जाँदा उनीहरुसँग काममा लगाए बापत प्रतिव्यक्ति १५ सय दिराम मागिएको आरोप पीडित हरुले लाएका छन । खान र बस्न नै समस्यामा परेका पीडितहरु काम सुरु गर्नु अघि नै काममा लगाएबापत धेरै रकम मागिए पछि उनिहरु निराश हुँदै फर्किएका थिए।
अहिले लगभग सात दिनका लागि खाद्यान्न सामग्री जुटे पनि उनीहरु त्यसपछि के गर्ने भन्ने अन्यौल मै रहेका छन्। यो उनिहरुलाइ स्वदेश फर्काउन नेपाली मजदुर एकता समाजले पनि दूतावास र मन्त्रालय हरुमा निरन्तर पहल गरिरहेको जनाएको छ । यद्यपि यश अगाडि पनि युएईस्थित नेपाली दुतावासमा पटक पटक यसबारे कुरा पुगे पनि दुतावासले समस्या लाई गम्भीरतापूर्वक नलिएको पीडित नेपाली हरुको गुनासो छ । अझैसम्म समस्या समाधान गरी उनीहरुलाई नेपाल फर्काउनेबारे ठोस पहल भने हुन सकेको छैन।