
रमेश कार्की
चीन । १९औँ एसियाली खेलकुद २०२३ को चीनको हाङझाउ भव्य उद्घाटन भएको छ । हाङझाउ ओलिम्पिक रंगशालामा शनिबार एक भव्य समारोहबीच चीनका राष्ट्पति शी जिङ्पिङ्ग र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) द्वारा प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोह करिब दुई घण्टासम्म चलेको थियो । समारोहमा चीनको प्रेसिडेन्ट शी जिङ्पिङले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई निमन्त्रणा गरेका थिए । साथै परराष्ट्रमन्त्री एनपी साउद, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायत उद्घाटन समारोहमा सहभागी थिए ।
प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ५३ खेलाडी सहभागी हुँदै छन् । जसमा महिला १२७ र पुरुष १२६ रहेका छन् । उद्घाटनमा ४५ देशका खेलाडी मार्च पासमा सहभागि भएका थिए । सो अवसरमा चीनका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो । एसियाली खेलकुदको इतिहासमा पहिलो पटक डिजिटल र भौतिक दुवै रुपमा टर्च प्रज्जलित गरिएको थियो । प्रतियोगिता विभिन्न ४५ देशका १२ हजार चार सयभन्दा बढी खेलाडी ४० खेलमा सहभागी हुँदै छन् । प्रतियोगिताको उद्घाटन शनिबार भए पनि फूटबल, क्रिकेट, भलिबल र टेबुलटेनिसका खेलहरु यसअघि नै सुरु भइसकेका छन् । नेपालले हालसम्म एसियाली खेलकुद प्रतियोगिताबाट तेक्वान्दो, बक्सिङ, कराँते र प्याराग्लाइडिङ खेलबाट दुई रजत र २२ कास्य पदक प्राप्त गरेको छ ।