रमेश कार्की
काठमाडौं । चीनको हाङ्गजओमा सप्पन्न एसियन पारा गेम्समा नेपालकी पलेशा गोवर्द्धनले कास्य पदक जितेकी छिन् । पलेशा यस कास्यसँगै एसियन पारा गेम्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भइन् । उनले पारा तेक्वान्दोको महिला के ४४ को ५७ केजी तौल समूहमा कास्य पदक जितेकी हुन् । पहिलो खेलमा चीनकी याङ लिटिंगलाई १४-१ ले हराउँदै पलेशा सेमिफाइनलमा प्रवेश गरेकी थिइन् ।
सेमिफाइनलमा भने काजाकस्तानकी कमिल्या दोसमलोभा सँग १६-१० ले पराजित हुँदै उनी फाइनल प्रवेश गर्न असफल रहिन् । रेपेचेजमा उनले बाई प्राप्त गरेपछि कास्य पदक पक्का भएको हो । यस विधामा ५ खेलाडी सहभागी भएकोमा रेपेचेजमा चीनकी याङ लिटिंग चीनकै लि युजीसँग पराजित भइन् । फाइनलमा इरानकी रोजा एब्रहिमी र कमिल्याले खेल्नेछन् ।