
रमेश कार्की
काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष राजेन्द्रकुमार शर्मा ‘आरके’ नेतृत्वको टोलीले उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेको छ । जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्र पुगेर राहत सामग्री वितरण गरेर सुखर्ते फर्किए पछि उपप्रधानमन्त्री खड्कासँग उनकै निवासमा भेटवार्ता भएको हो । भेटवार्तामा अध्यक्ष शर्मा सहित निबर्तमान अध्यक्ष रविना थापा, महासचिव बुद्दीसागर सुवेदी, युरोप संयोजक चिन्तामनि सापकोटा, एनआरएन अभियन्ता ओम शर्मा लगाएत सहभागी थिए । सो अवसरमा अध्यक्ष शर्माले एनआरएनएले भूकम्प प्रभावित क्षेत्रमा वितरण गरेको राहत सामग्रीको बारेमा जानकारी गराएका थिए ।
यसैगरी आगामी दिनमा पनि गैर आवासीय नेपालीहरुको ज्ञान र सीपका आधारमा भूकम्प पछिको पुननिर्माणमा पनि आफूहरुले सरकारसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता जनाए । जवाफमा उपप्रधानमन्त्री खड्काले विपद्को बेला सबै एकजुट भएर सहयोग गर्नु पर्ने र त्यसका लागि एनआरएनले गरेको कामको सरकारले उच्च मूल्यांकन गर्ने बताए । आगामी दिनमा पनि सरकारले एनआरएनहरुसँग मिलेर काम गर्ने वताउँदै विपद्का बेला सहयोग गर्ने विदेशमा बस्ने सबै नेपालीहरु धन्यवादका पात्र भएको पनि बताए । जाजरकोटको रामीडाँडा केन्द्रविन्दू भएर गत शुक्रबार गएको ६.४ रिक्टर स्केलको भूकम्पछि मानवीय र भौतिक क्षति व्यापक भएकाले अहिले राहत वितरण र उद्दारकार्य भइरहेको छ ।