
रमेश कार्की
चितवन । भरतपुर महानगरपालिका अन्य नगर र महानगरहरु मध्यमा अग्रस्थानमा रहेर भुकम्प पीडितहरुलाई राहत बाडेका छन् । महानगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृतसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमपश्चिम पुगेर नौ सय परिवारलाई राहत वितरण गरेको छ । स्थलगतरूपमा मृतकका परिवारलाई समवेदना र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै स्थानीय पालिकामार्फत राहत वितरण गरिएको हो । नगरपालिकाका प्रमुख रवि केसीलाई मेयर रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले खाद्यान्न र लत्ताकपडा हस्तान्तरण गरेका थिए । यसैगरी जाजरकोटको नलगाड नगरपालिकाका प्रमुख डम्बरबहादुर रावललाई खाद्यान्न र लत्ताकपडा रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्टलाई खाद्यान्न र लत्ताकपडा र जाजरकोटको भेरी नगरपालिकाका लागि प्रमुख जिल्ला अधिकारी सुरेश सुनारमार्फत दुई सय बोरा राहत सामग्री हस्तान्तरण गरिएको हो ।
ऊर्जामन्त्री शक्ति बस्नेतको उपस्थितिमा राहत सामग्री हस्तान्तरण गरिएको छ । एक परिवारलाई २५ किलो चामल, पाँच किलो दाल र एउटा ठूलो ब्ल्याङ्केट वितरण गरिएको हो । अधिकारीका अनुसार महानगरपालिकाले रु ४० लाख हाराहारीको राहत सामग्री वितरण गरेको छ । सो क्रममा महानगर प्रमुख दाहालले दुःख साट्न हाम्रो टोली स्थलगतरूपमा आएको भन्दै प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा महानगरका तर्फबाट एक करोड दिइने बताइन् । मेयर दाहालको भनाइ अनुसार “मेरो कार्यक्षेत्र भरतपुर महानगर मात्रै भएता पनि दुख पिढा पर्दा मैले मानवता र भावनात्मक हिसाबले आफ्नो कर्तव्य सम्झेर स्थलगत रूपमा प्रभावित क्षेत्रमा पुगेर मृतकका परिवारलाई भेट गरेर हौसला दिने सोच बनाएर आएकी हु”। यसैगरी घाइतेलाई समेत उनको समूहले भेट गरेको थियो ।