भूकम्पका कारण घरबास गुमाएपछि त्रिपालमा बस्दै आएका भूकम्पपीडितले चिसोका कारण धमाधम ज्यान गुमाउन थालेका छन् । वडा कार्यालयहरूका अनुसार बिहीबारसम्म चिसोले मृत्यु हुनेको संख्या २२ पुगेको छ । जसमा जाजरकोटमा १९ र रुकुम पश्चिममा ३ जनाको ज्यान गएको हो ।

मृत्यु हुनेहरूमा धेरैजसो दीर्घरोगी छन् । ‘सामान्य अवस्थामै पनि दीर्घरोगीको स्वास्थ्य कमजोर हुन्छ, केहीले त भूकम्पपछि नियमित औषधि नै सेवन गर्न पाएका थिएनन्,’ जिल्ला अस्पतालकी प्रमुख डा. प्रतीक्षा भारतीले भनिन्, ‘एक त रोग प्रतिरोधी क्षमता कमजोर, त्यसमा पनि अत्यधिक चिसोको बसाइ, जसलाई उनीहरूको शरीरले पचाउन सकेन ।’ दुई बालबालिकाले पनि समयमै उपचार नपाउँदा ज्यान गुमाएको उनले बताए ।

अत्यधिक चिसोका कारण दीर्घरोगीले थप स्याहार पाउन नसक्दा ज्यान गुमाइरहेको नलगाड नगर अस्पतालका डा. विशाल उप्रेती बताउँछन् । उनका अनुसार भूकम्पका कारण सबैभन्दा बढी क्षति बेहोरेको नलगाडमा झन्डै एक हजार दीर्घरोगी छन् । ‘अधिक चिसोले झाडापखाला, ज्वरो र रुघाका बिरामी बढेका छन्, मुटु रोगी, दमका बिरामी, उच्च रक्तचाप र मधुमेहका बिरामीको स्वास्थ्य अवस्था कमजोर बन्दै गइरहेको छ,’ उनले भने, ‘अस्पतालमा आएकालाई हामीले औषधि दिएर त पठाइरहेका छौं तर अस्थायी टहरा नबन्दासम्म उनीहरू सबैको ज्यान जोखिममै छ ।’ अस्पतालमा दैनिक १ सयदेखि १ सय ५० जनासम्म बिरामी उपचारका लागि आइरहेका छन् ।

नलगाड नगरपालिका प्रमुख डम्बरबहादुर रावतले पर्याप्त टहरा बन्न नसक्दा भूकम्पपीडितलाई चिसोबाट बचाउन मुस्किल भएको बताए । ‘अहिलेसम्म एउटा परिवारका लागि १/१ थान त्रिपाल र कम्बल मात्र दिन सकेका छौं, त्यसैको भरमा ५/७ जनाको परिवार बस्नुपरेको छ,’ उनले भने, ‘रातभरि चुहिने शीत र सिरेटो थेग्न नसक्दा स्वास्थ्य समस्या बढिरहेको छ, अहिले त बिरामी नभएका त्रिपाल र परिवार एउटै छैनन् ।’

एकसरो त्रिपाल र लत्ताकपडाको भरमा कष्टकर जीवनयापन गर्दै आएका भूकम्पपीडितले धमाधम ज्यान गुमाउन थालेको स्थानीय अगुवा जनक केसीले बताए । ‘धन्न धेरै दीर्घरोगी र एकाध सामान्य अवस्थाका व्यक्तिले मात्र ज्यान गुमाएका छन्,’ उनले भने, ‘चिसोका कारण सबैजसो पालमा छन्, कोही न कोही बिरामी छन्, पीडितलाई रातभर आगो तापेर जाग्राम बस्नुपर्ने बाध्यता छ ।’

छेडागाडस्थित आधारभूत अस्पतालमा भने बढीजसो निमोनिया भएका बालबालिका उपचारका लागि आउने गरेको डा. प्रिय शाहीले बताए ।

उनका अनुसार चिसोका कारण अस्पतालमा ५० जनासम्म बिरामी आउने गरेकामा झन्डै आधा बालबालिका हुने गरेका छन् । बालबालिकामा ज्वरो र रुघाखोकीको समस्या बढी देखिएको छ । जाजरकोट अस्पतालमा पनि चिसोका कारण बिरामीको चाप बढिरहेको छ । दैनिक सय जनासम्म चिसोका बिरामी उपचारका लागि आउने गरेको र झन्डै २५ जनाको इमर्जेन्सीमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।

जाजरकोटका सहायक प्रमुख जिल्ला अधिकारी हरिशचन्द्र शर्माले मृत्यु हुनेमा वृद्धवृद्धा, शिशु र दीर्घरोगी बढी भएको बताए । ‘केहीलाई पहिल्यैबाट समस्या देखिएको थियो, कोही उमेर बढी भएका पनि हुनुहुन्थ्यो,’ उनले भने, ‘पालमा चिसो भयो, चिसोले अझै असर गर्‍यो पनि, त्यसैले मृत्यु हुन गयो ।’

जिल्ला स्वास्थ्य सेवा कार्यालयका अनुसार जाजरकोटमा ५ वर्षमुनिका १० हजार ५ सय ६० बालबालिका प्रभावित छन् । यस्तै १ हजार ३ सय ६० जना गर्भवती र ९ सय सुत्केरी भूकम्पबाट प्रभावित छन् । रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी कालीबहादुर ओलीले बताए । उनका अनुसार जिल्लाभरि १ हजार ६८ गर्भवती र ७ सय ३९ सुत्केरी प्रभावित भएका छन् । उनले रुकुम पश्चिममा झन्डै १ हजार २ सय दीर्घरोगी र ३ हजार ७ सय ८१ जना ज्येष्ठ नागरिक प्रभावित भएको जानकारी दिए ।

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५६ जनाको मृत्यु भएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा झन्डै ५५ हजार परिवार विस्थापित भएका छन् । जसमध्ये झन्डै १ हजार परिवारका लागि स्वयंसेवी, संघसंस्था र राजनीतिक दलले अस्थायी टहरा निर्माण गरेका छन् भने बाँकी परिवार त्रिपालमुनि नै छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय