
✍ प्रिया राना
अन्धकार मात्र देख्छु जताततै
सहि बाटो देखिन मैले यहाँ !
गन्तब्य पहिल्याउन खोज्छु
मेटिदिन खोज्छन् झन यहाँ !
यो संसारमा स्वार्थीहरु मात्र भेटे
देखिन कतै दयालुहरु यहाँ !
आँखा चिम्ली अघि बढ्न खोजे
बाटो छेकि दिन मात्र खोज्छन् यहाँ !
खोइ किन कोहि कसैलाई
यति धेरै म प्रति रिस छ यहाँ !
भित्र भित्रै खोइ किन धेरैलाई
मेरो काम सँग ईर्ष्या छ यहाँ !!
पाइला पाइलामा चोट दिन्छन्
आफ्नै भन्नेहरूले पनि यहाँ !
खोइ कसको बिश्वास गरु म
खुकुरीको धारमा हिडिरहेको छु यहाँ !
आफ्ना त आफ्ना रहेनन्
अरुको त झन के नै आसा छ र यहाँ !
मायाले होइन रिसले जल्छन्
आफुले गर्न नसके अरुको दाहा गर्छन् यहाँ !
खोइ कस्तो समाज अनि संस्कार
दुखेको घाउ माथी उफ्रि उफ्रि नाच्छन् यहाँ !
अगाडि मात्र ठीक्क पार्छन् सबै
पछाडी कुभलो सोच्नेहरुको भिड छ यहाँ !!
आखिर के पाउछन् यसरी उनीहरु
किन मेरो दुखमा खुसी हुन्छन् यहाँ !
यसरी कहिले सम्म नराम्रो सोच्छौ
आफु कहिले सम्म जल्छौ यहाँ !
तिमीहरु न मलाइ निदाउन दिन्छौ न त
आफु राम्रो सँग निदाउछौ यहाँ !
कस्तो स्वार्थी तिमीहरुको संसार
कति निर्दयी तिमीहरूको मन यहाँ !
सक्छौ भने आफ्नै पौरखीमा अघि बढ्नु
अनि संसार जितेर देखाउ यहाँ !
आखिर के छ र जिन्दगी
एकदिन त सब मरेर जाने हो यहाँ !
किन घरीघरी मलाइ नै चियाइरहन्छौ
दुखेको मुटुमा नै घोची रहन्छौ यहाँ !
अब त टाढा जाउ म देखि धेरै टाढा
मलाई आफ्नै हालमा बाच्न देउ यहाँ !