
रमेश कार्की
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सन् २०२७ को यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता भरतपुरको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेलाउने इच्छा रहेको बताएकी छन् । शुक्रबार लोकतान्त्रिक खेलकुद संघले भरतपुरमा आयोजना गरेको मैयाँदेवी स्मृति यू–१९ प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै प्रमुख दाहालले नेपाल क्रिकेट संघ क्यानलाई आवश्यक वातावरण मिलाउन अनुरोध गरिन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सन् २०२७ मा हुने यू–१९ महिला विश्वकपमा नेपाललाई सहआयोजक बनाएको छ । जसअनुसार सन् २०२७ को यू–१९ महिला विश्वकप नेपाल र बंगलादेशमा हुनेछ ।
त्यसअघि सन् २०२५ को प्रतियोगिता मलेसिया र थाइल्याण्डले आयोजना गर्नेछन् । मेयर दाहालले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी निर्माण कार्यका लागि माघ महिनाभित्रै ठेक्का आह्वान हुने स्पष्ट पारिन् । यसका लागि बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले केही दिनमा बजेट विनियोजन गर्ने पनि उल्लेख गरिन् । बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको साझेदारीमा १ अर्ब लगानीमा बाँकी निर्माण कार्य अगाडि बढाउने सम्झौता भएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासहित नेपालका ३ रंगशालाले राष्ट्रिय गौरवको आयोजनामा समावेश गरेको छ ।
प्रमुख दाहालले भरतपुर महानगरपालिकाले खेलकुद क्षेत्रमा ठूलो लगानी गरेकाले खेल विधामा नेपालका ७५३ पालिकामध्ये प्रथम स्थान हासिल गरी पुरस्कृत भएको स्मरण गराइन् ।यही गरिमालाई उचो पार्न भरतपुरमा दैनिक रूपमा खेल गतिविधिहरू हुने गरेका प्रमुख दाहालले बताइन् । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले १ वर्षभित्र गौतम बुद्ध क्रिकेट रंगशालाका २ वटै मैदानमा खेल खेल्न मिल्ने गरी काम हुन लागेकोमा खुशी व्यक्त गरे । अध्यक्ष चन्दले अलपत्र रहेको रंगशालाको बाँकी निर्माण कार्यका लागि भरतपुर महानगर प्रमुख दाहालले लिएको नेतृत्वदायी भूमिकाको प्रशंसा गरेका छन् ।