
चितवन। भरतपुर महानगरपालिकाले सूचना प्रविधि (आइटी) को हब बनाउन अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा काम अघि बढाएको छ। युएसएआइडीले परामर्शदाता (कन्सल्टेन्ट)नियुक्त गरेर काम अघि बढाएको हो। युएसएआइडीले डिलोइट (आइटीसम्बन्धी परामर्श दिने कम्पनी) लाई परामर्शदाता छनोट गरी काम अघि बढाएको छ। महानगरपालिकाका इन्जिनियर साकार लामाका अनुसार यो विश्वको चौथो ठूलो मध्येको आइटी परामर्श कम्पनी हो।
भौतिक विकासमा अग्रणी मानिएको भरतपुरलाई आइटी हबका रूपमा विकास गर्न महानगर र युएसएआइडीबीच गत कात्तिक १७ गते द्विपक्षीय सम्झौता भएको थियो। डिलोइटले भरतपुरको २० वर्षे गुरुयोजनाअन्तर्गत आइटी हब निर्माण गरी यहाँको आर्थिक समृद्घि र रोजगारीको अवसर सिर्जनालाई मुख्य आधार बनाएको छ। नगरप्रमुख रेनु दाहालले परामर्शदाता कम्पनीलाई वस्तुगत आधार र भौगोलिक यथार्थलाई गहन रूपमा बुझेर गुरुयोजना निर्माण गर्न सुझाव दिएको बताइन्। गुरुयोजनालाई निर्धारित समयमा सकेर केन्द्र, प्रदेश सरकार, दातृ निकायको सहयोग र समन्वयमा कार्यान्वयनमा लैजाने महानगरको योजना रहेको उनले बताइन्।
भौतिक विकास, समता–समानता, सुशासनपछि अबको भरतपुरको लक्ष्य रोजगारी सिर्जना र अत्मानिर्भर सूचना प्रविधिमैत्री भरतपुर बनाउने लक्ष्य रहेको नगरप्रमुख दाहालको भनाइ छ। यो कम्पनीले यसअघि भारतको बैङ्लोर र बङ्गलादेशमा आइटी हब बनाउन सहयोग गरेको थियो । महानगर प्रमुख दाहालले भनिन्, “अनुभवी कम्पनी भएकाले समयमै उच्चस्तरको गुरुयोजना बन्नेमा हामी विश्वस्त छौँ।” डिलोइटले भरतपुरको सूचना प्रविधिको क्षमता आकलन, आइटी कम्पनीको आवश्यकता, भरतपुरले आइटी कम्पनीलाई के के सुविधा दिन सक्छ भन्ने बारेमा अध्ययन गर्नेछ।
यसैगरी नीतिगत सुधार गर्नुपर्ने विषय, आइटी कलेज र तालिम केन्द्र निर्माणलगायतका विषयमा अध्ययन गरी गुरुयोजना बनाउने छ। इन्स्टिच्युट फर इन्टिग्रेटेड डेपलपमेन्ट स्टडिज (आइआइडीएस)ले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनअनुसार सन् २०२२ मा नेपालबाट एक सय छ भन्दा बढी सूचना प्रविधि कम्पनीले सेवा निर्यात गरेका छन्। सूचना प्रविधि क्षेत्रले सेवा निर्यातका माध्यमबाट वार्षिक रु ६८ अर्ब ७६ करोडभन्दा बढी रकम स्वदेश भित्र्याइरहेको छ। आइआइडीएसले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार सन् २०२१ को तुलनामा सन् २०२२ मा नेपालको सूचना प्रविधि सेवा निर्यातमा ६४ दशमलव दुई प्रतिशतको उल्लेख्य वृद्धि भएको थियो। नेपालका त्यस्ता आइटी कम्पनीलाई भरतपुर भित्र्याएर रोजगारी सिर्जना गर्न उपयोग हुने गरी गुरुयोजना बनाउन लागिएको नगरप्रमुख दाहालले बताइन्।