
रमेश कार्की
चितवन । काठमान्डौ जिल्लाले १४ औं वाग्मती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । विभिन्न १३ जिल्लाको सहभागितामा विभिन्न ६ खेल समावेश प्रतियोगितामा काठमाडौं ३१ स्वर्ण, १२ रजत र ९ कांस्य पदकका साथ टिम च्याम्पियन बन्यो । काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेशलाल कक्षपतिका अनुसार काठमाडौं लगातार तेस्रो पटक च्याम्पियन बन्दै रनिङ सिल्ड आफ्नो नाममा लेखाउन सफल भयो । प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशद्वारा आयोजित प्रतियोगितामा १० स्वर्ण, ६ रजत र १३ कांस्य पदक जितेको चितवन दोस्रो भयो । तेस्रो स्थानको ललितपुरले ५ स्वर्ण, ४ रजत र ६ कांस्य पदक जितेको थियो ।
६६ स्वर्णका लागि भएको प्रतिस्पर्धामा मकवानपुर र भक्तपुरले ४/४, धादिङ, दोलखा, काभ्रे, सिन्धुली र नुवाकोटले २/२ तथा रामेछाप र सिन्धुपाल्चोकले १/१ स्वर्ण पदक जितेका थिए । विजेतालाई प्रदेश खेलकुद विकास परिषद् वाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारी लगायतले पुरस्कृत गरे । यसै प्रतियोगिताबाट राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा काठमाडौंमा हुने १४ औं केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदका लागि वाग्मतीबाट खेलाडी छनोट हुनेछ । केन्द्र स्तरीय राष्ट्रपति रनिङ सिल्ड वैशाख ४ देखि ६ सम्म हुनेछ ।