रमेश कार्की 

चितवन । अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत तेस्रो दिन बुधबारको खेल सकिँदासम्म बागमती प्रदेश ५१ स्वर्ण, ३६ रजत र ३० कास्यसहित पदक तालिकाको शीर्षस्थानमा रहेको छ । १८ स्वर्ण, १९ रजत र २२ कास्यसहित सुदुर पश्चिम प्रदेश दोस्रो स्थानमा छ । १२ स्वर्ण, १७ रजत र ३० कास्यसहित कोशी प्रदेश तेस्रो स्थानमा रहेको छ । ११ स्वर्ण, १० रजत र २३ कास्यसहित लुम्बिनी प्रदेश चौथो स्थानमा रहेको छ । ७ स्वर्ण, ८ रजत र १७ कास्यसहित कर्णाली प्रदेश पाँचौं स्थानमा रहेको छ भने ४ स्वर्ण, १४ रजत र १४ कास्यसहित गण्डकी प्रदेश छैठौ र ३ स्वर्ण, २ रजत र १० कास्यसहित मधेश प्रदेश अंकतालिकाको पुछारमा रहेको छ ।

महिला क्रिकेटको उपाधि सुदुरपश्चिम प्रदेशले जित्दा कोशी प्रदेश उपविजेतामा सीमित भएको छ । कराँतेमा ९ स्वर्णसहित बागमती अग्रस्थानमा रहँदा लुम्बिनीले ४, सुदुरपश्चिमले ३ र कोशी प्रदेशले १ स्वर्ण पदक जित्दा कर्णाली, गण्डकी र मधेश प्रदेश स्वर्ण पदकविहिन छ । तेक्वान्दोमा बागमतीले ७, कोशी र सुदुरपश्चिमले ५/५, लुम्बिनीले ३ र कर्णालीले १ स्वर्ण जितेको छ । मधेश र गण्डकी प्रदेशले एउटा पनि स्वर्ण जित्न सकेको छैन ।

 

प्रतियोगिताको उपाधि विजेता र उपविजेतालाई शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ । अन्तर प्रदेश प्रतियोगितामा ७ प्रदेशका १ हजार ५ सय भन्दा बढी खेलाडीहरुको सहभागिता रहेको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु भएको प्रतियोगिताको समापन हेटौंडा-६ स्थित गौरीटार रंगशालामा हुनेछ । प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेताले क्रमशः ५ हजार रुपैयाँ, ४ हजार रुपैयाँ र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको उपाधि विजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले १० हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताका लागि करिब १२ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुको खर्च प्रदेश खेलकुद विकास परिषद्‌ले व्यहोर्नेछ। यस्तै, खेलाडीहरुलाई ट्रयाकसुट, जुत्ता, मोजा र टावेल पनि प्रदान गरिनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय