
रमेश कार्की
काठमाडौं । बागमती प्रदेश टेकबल संघको प्रथम अधिबेशन शनिबार भक्तपुरमा सम्पन्न भएको छ । प्रदेश खेलकुद विकास परिषद बागमती प्रदेशका बोर्ड सदस्य र टेकबल संघका केन्द्रीय अध्यक्षको उपस्थितीमा बागमती प्रदेश टेकबलसंघको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको हो । अधिबेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमश: राजन कुमार श्रेष्ठ बिदुर कंडेल, माधवी बोस, रविन्द्र लाछिमस्यु, सबिता रेग्मी रहेको १३ सदस्य कार्यसमिति चयन गरेकाे छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ अनुसार गठन भएको बागमती प्रदेश टेकबल संघको तदर्थ समितिले बनाएको बिधानलाई सर्वसम्मत रुपमा पारित गरी नयाँ कार्य समिति बनेको हो । नयाँ कार्यसमितिको कार्यकाल ५ वर्ष रहने छ ।
नव निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि तथा बागमती प्रदेश खेलकुद विकास परिषद बोर्ड सदस्य सुनिता गौतमले परिषदको तर्फबाट टेकबलखेल बिकास र बिस्तारमा सहयाेग गर्ने प्रतिवद्वता ब्यक्त गर्नु भयो । विशेष अतिथि तथा नेपाल टेकबल संघका केन्द्रीय अध्यक्ष सुवास श्रेष्ठ निर्वाचित पदाधिकारीलाई बधाई दिदै, बागमती प्रदेश टेकबल संघ गठनले नेपालमा टेकबल खेलको विकासमा थप सहयोग पुग्ने आशा ब्यक्त गरे ।
बागमती प्रदेश देशकै राजधानी र धेरै टेकबल खेलाडी रहेको प्रदेश रहेकोले प्रदेश टेकबल संघको गठनले अझ खेलकुद विकासमा देशलाई ठुलो सहयोग हुने उनले बताए । आगामी आर्थिक वर्षमा बागमती प्रदेशका १३ वटै जिल्लामा जिल्ला टेकबल संघ र पालिका स्तरीय संघ गठन गर्ने निर्णय समेत गरिएको छ । केन्द्रिय अध्यक्ष सुवाश श्रेष्ठले अब १ महिना भित्र काठमाडौंमा ठुलो कार्यक्रमको आयोजना गरी रा खे प मा दर्ता गर्ने र अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्ने घोषणा समेत गर्नु भयो ।