रमेश कार्की 

चितवन । आईसीसी विश्वकप खेल्ने तयारीमा रहेको १९ वर्षमुनि महिला क्रिकेट टोलीले बुधबारदेखि निर्माणाधीन क्रिकेट रंगशालाको नमुना मैदानमा बन्द प्रशिक्षण सुरु गरेको छ । भरतपुर महानगरपालिका–१५ रामपुरमा रहेको रंगशालामा टोलीले १२ दिन प्रशिक्षण गर्नेछ । मलेसियामा जनवरी १८ देखि फेब्रुअरी २ सम्म आईसीसी यू–१९ महिला विश्वकप क्रिकेट प्रतियोगिता हुँदै छ ।

‘हामी यहाँ आएर अभ्यास गर्दै छौं । ग्राउन्ड र पिचको अवस्था राम्रो लाग्यो । हामीले एसिया कप खेल्दाका केही कमजोरी विश्वकपमा दोहोर्‍याउने छैनौं । फिल्डिङ र रनिङ बिटविन विकेटमा हामी सुधार गर्न खोज्दैछौं’ टोलीकी कप्तान पूजा महतोले भनिन् । टिममा पावर हिटिङ अलिकति कमजोर भएको हुँदा यसलाई पनि सुधार गर्न क्याम्प सहयोगी हुने उनको विश्वास छ ।

‘हामी अहिलेसम्म राम्रो गर्दै गएका छौं । सुपर सिक्समा जाने आत्मविश्वास छ । पाकिस्तानलाई हराएका हौं । यसबाट वर्ल्डकपमा पनि टेस्ट खेल्ने देशलाई हराउँछौं भन्ने छ’, पूजाले आत्मविश्वास देखाइन् । नेपालले समूह चरणको पहिलो खेल जनवरी १८ मा बंगलादेशसँग खेल्नेछ । त्यसपछि नेपालले जनवरी २० मा स्कटल्यान्ड र जनवरी २२ मा अस्ट्रेलियासँग खेल्दै छ । टोली महेशप्रसाद रिजालको मुख्य प्रशिक्षणमा रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय