रमेश कार्की
चितवन | नारायणगढस्थित नारायणी नदीकिनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ चितवनद्वारा आयोजित १५ औँ संस्करणको चितवन महोत्सव उल्लासमय तरिकाले चलिरहेको छ । महोत्सवमा विविधि विविधि गतिबिधिहरु भइरहेका छन् । जसमा दैनिक सांस्कृतिक कार्यक्रम भइरहेको छ भने कहिलेकाहीँ खेलकुदका गतिविधिसमेत भइरहेका छन् ।
महोत्सव परिसरमा बुधबार बिहान स्लो साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । साइकल व्यावसायी संघ चितवन नवलपुरसँगको सहकार्यमा महोत्सव मुल समितिले स्लो साइकल रेस प्रतियोगिता आयोजना गरेको हो ।
३८ जनाको सहभागिता रहेको प्रतियोगितामा एभरेष्ट वर्ल्ड क्लास तेक्वान्दो का प्रशिक्षक करण खड्का प्रथम, उसै डोजागं का खेलाडी अन्जित ढकाल द्वितीय र सुरेश राना तृतीय भए । विजेताहरुलाई क्रमशः गेर साइकल, लेडिज साइकल र सानो साइकल पुरस्कार प्रदान गरिएको चितवन महोत्सव खेलकुद समिति संयोजक शंकरप्रसाद घिमिरेले जानकारी दिए ।
खुला रुपमा खेलाडीको दर्ता गराइएको थियो । दर्ता शुल्क प्रतिखेलाडी १०० रुपैयाँ तोकिएको थियो । प्रतियोगितापछि उद्योग वाणिज्य संघ समिति र कर्मचारीहरुले पनि मैत्रीपूर्णरुपमा स्लो साइकल रेस खेलेका थिए । पुस २५ गते बाट सुरू भएको चितवन महोत्सव माघ १० गतेसम्म चल्ने छ ।