
रमेश कार्की
चितवन । चितवनको भरतपुर अस्पतालले बिरामी र बिरामीका आफन्तका लागि निःशुल्क सटल (छोटो दुरीमा चल्ने)बस सञ्चालन गर्ने भएको छ । फागुन १ गते अर्थात् बिहीबार बाट बस सञ्चालनको तयारी गरिएको हो । अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार हरेक दिन बिहान ९ देखि अपरान्ह ४ बजेसम्म बस सञ्चालन गरिने छ । तीस जनाको क्षमता रहेको यस बसमा बिरामी र बिरामीका आफन्तले सेवा लिन सक्नेछन् । उनले भने, ‘नेपालका अस्पतालमा बिरामी र बिरामीका आफन्तलाई यो सुविधा थिएन, पहिलोपटक यो सुविधा दिन लागिएको हो ।’
अस्पतालको नर्सिङ विभागमा चालू अवस्थामा रहेको बसलाई सटल बसका रुपमा सञ्चालन गर्न ल्याइएको हो । बस भरतपुर अस्पतालबाट मालपोत चोक (बाइपास रोड), जिल्ला प्रशासन कार्यालय चोक, हाकिम चोक, चौबिसकोठी, वीरेन्द्र क्याम्पस चोक, विशाल चोकदेखि बाइपास रोड हुँदै पुनः भरतपुर अस्पतालसम्म आइपुग्ने छ ।
पौडेलका अनुसार अस्पतालमा कर्मचारी बोक्ने बस हुने गरेको भए पनि बिरामी र बिरामीका आफन्त बोक्ने बस भने छैन ।
चितवनसहित १९ जिल्लाका बिरामीको उपचार हुँदै आएको यस अस्पतालमा आउने बिरामी र तिनका आफन्तले समयमा अस्पताल आउने सवारी साधन नपाउने गरेको गुनासोलाई व्यवस्थापनका लागि अस्पतालले सटल बस सञ्चालनमा ल्याएको पौडेलले बताए ।