
रमेश कार्की
काठमाडौं । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले जनताले तिरेको करबाट तलब, भत्ता खाएर जिम्मेवारी बहन नगर्ने प्रशिक्षक र कर्मचारीहरूप्रति आक्रोश पोखेका छन् । शुक्रबार ललितपुरमा खेलकुद क्षेत्रका विज्ञहरूसँगको अनौपचारिक कुराकानीका क्रममा राज्यको तलब र भत्ता खाएर धरमा सुतेर दैनिक गतिविधि नगर्ने खेलकूद कर्मचारी, प्रशिक्षकहरूले खेलकुद र कुशल खेलाडीहरू उत्पादनमा काम गर्नुपर्ने बताए । उनले कार्यालय समयमा आएर हाजिर गरेर तलब र भत्ता खाने प्रशिक्षक, खेलाडी र कर्मचारीहरूलाई जनताले राज्यलाई तिरेको करबाट तलब, भत्ता खाने अधिकार नरहेको बताए ।
राज्यको करबाट तलब खाएपछि इमान्दारिताका साथ जिम्मेवारी बहन गर्नुपर्ने उनले बताएका छन् । खेलकुदमन्त्री महर्जनले विभिन्न खेलका ३० प्रतिशत प्रशिक्षक र खेलाडीहरूलाई राज्यले तलब, भत्ता दिएर काबिल खेलाडीहरू उत्पादन गर्ने जिम्मेवारी दिएको बताए । तर खेलकुदका कर्मचारीहरूले राम्रोसँग जिम्मेवारी बहन नगरेको उनले बताए ।
‘प्रशिक्षकको काम भनेको खेलाडीहरूलाई प्रशिक्षण गराउने हो’, मन्त्री महजर्नले भने, ‘काबिल र प्रतिस्पर्धा गर्न सक्ने खेलाडीहरू उत्पादन गर्ने हो ।’मन्त्री महर्जनले भने, ‘यहाँ त के भइरहेछ भने कार्यालय समय बिाहन १० देखि ५ बजेसम्ममा हाजिर गर्ने । घर जाने कार्य मात्रै भइरहेको छ । जिम्मेवारीप्रति कसैलाई चासो छैन ।’ उनले भने, ‘अबको केही दिनभित्र बागमती प्रदेशका १३ वटा जिल्लाका जिल्ला खेलकुदका अध्यक्षहरूलाई कुन कुन खेलको कति जना प्रशिक्षक छन् ? ती प्रशिक्षकहरूले कुन ठाउँमा प्रशिक्षण गराइरहेका छन् ? त्यसको सम्पूर्ण प्रतिवेदन माग्नेछु ।
‘बागमती प्रदेशका सबै जिल्लाका खेलाडीहरूको अभिलेख तयार पारिनेछ’, मन्त्री महर्जनले भने, ‘अभिलेख राख्ने क्रममा कुन जिल्लामा कति खेलाडी छन् ? कुन जिल्लामा कति राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन भएका छन् ? बास्तविक तथ्याङ्क आउनेछ ।’ युवा तथा खेलकुदमन्त्री महर्जनले आफू करातेको अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी रहेको भन्दै बागमती प्रदेशमा खेलकुदको क्षेत्रमा सानो भए पनि सुधार गर्ने बताए ।
दक्ष खेलाडी उत्पादन र खेलकुदको क्षेत्रमा जिम्मेवारीअनुसार कार्य सम्पादन गर्नेलाई आफूले सहयोग गर्ने अन्यथा ऐनको व्यवस्थाअनुसार दण्ड, सजायका लागि तयारी अवस्थामा रहन सबैलाई चेतावनी दिएका छन् । नेपाली कांग्रेसबाट युवा तथा खेलकुदमन्त्री बनेका महर्जनले बागमती प्रदेशलाई खेलकुदको हब बनाउन खोजेका छन् । नेपालको नाम अन्तर्राष्ट्रियस्तरमा फैलाउने गरि काबिल खेलाडीहरू उत्पादन गर्ने महर्जनको कार्ययोजना छ ।