रमेश कार्की
चितवन । चितवनको भरतपुरमा पुसको ४ देखि ६ गतेसम्म हुन गईरहेको प्रथम भरतपुर खुल्ला राष्ट्रिय प्रतियोगितामा एभेरेस्ट वर्ल्ड क्लास तेक्वान्दो डोजाङका २२ जना खिलाड़ीहरुले प्रतियोगितामा सहभागिता जनाउने भएको छ । भरतपुर महानगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भरतपुर–१० स्थित भरतपुर कभर्डहलमा प्रतियोगिता हुन लागेको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
प्रतियोगितामा देशभरका करिब एक हजार खेलाडीले सहभागिता जनाउने समितिका अध्यक्षका विकास श्रेष्ठले जानकारी दिएका छन् । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै प्रतियोगिता आयोजना गरिएको हो । यस प्रतियोगितामा महिला र पुरुषको छुट्टाछुट्टै तौल समूहमा हुने प्रतियोगितामा १० वटा पुम्से विधा तथा ३० वटा क्यारोगी (फाइट) गरी ४० स्वर्णपदकका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने खेलाडीले ट्रफी तथा प्रमाणपत्र पाउनेछन् ।
उक्त प्रतियोगितामा खेलाडीले प्राप्त गरेको पदकका आधारमा पहिलो हुने डोजाङले रु ५० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र, दोस्रो हुने डोजाङले रु ३० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र तथा तेस्रो हुने डोजाङले रु २० हजार, ट्रफी, मेडल एवम् प्रमाणपत्र प्राप्त पाउने छन् । प्रतियोगितामा उत्कृष्ट हुने एक–एक जना महिला र पुरुष खेलाडीलाई रु पाँच हजार पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै उत्कृष्ट रेफ्रीलाई समेत पुरस्कृत गरिने भएको छ।