कमला शाक्य (सृष्टि)

काठमाडौंको त्यो गल्ली अनि एउटा तल्लामा दुइटा कोठा भएको ५/६ तल्ले घरमा हाम्रो कोठा..! त्यही घरको भुईं तल्लामा मेरी आमाको चिया पसल..! वरिपरि चिनेका नचिनेका मानिसहरु मेरी आमाको चिया पसलभित्र अनि बाहिर उभिएर चिया पिउनको लागि आउँथे । हाम्रो पसलमा नजिकै तारे होटलका कर्मचारीहरु पनि चिया पिउन आउँथे । त्यतिबेला अहिले जस्तो दुधको पोका सजिलै पाउदैन्थियो, त्यसैले बिहान सबेरै मेरा दाजुहरु चिया पसलको लागि चाहिने दूधको पोका कहिले कहाँ, कहिले कहाँ गएर लाइन बसेर ल्याउनुहुन्थियो । यसरी मेरा दाजुहरु लाइन बसेर ल्याएर दुधको पोका जम्मा गरेर मेरी आमाको अगाडि चिया पसलमा थुपारी दिनुहुन्थ्यो । त्यो २०४०-०४१ सालमा काठमाडौंको एक वडामा हामी स-परिवारै बसेका थियौं । २०४५ सालको भूकम्पमा आउँदा मलाई अलि अलि सम्झना छ । भूकम्प आएको बेला हामी त्यही बसेका थियौं । भूकम्पको बेला त्यो घरमा कोठा बस्ने सबै छिमेकीहरु बाहिर निस्कने क्रममा थिए । मेरी आमा दाजुहरुलाई डोर्याउदै अघि निस्कनुभयो र मेरो बुबाले मलाई बोकेर भर्याङ बाट ओर्लनु भयो, त्यो बेला भूकम्पले बेस्सरी हल्लाएकोले बल्लबल्ल भुईं तल्लामा आएका थियौ । म उमेरले सानी भएकीले अरु कुरा त्यति सम्झना छैन । त्यतिबेला नेपालले जनधनको ठूलो क्षति भएको म अलि ठूली हुदा थाहा पाएँ । त्यसको एकवर्ष पछि २०४६ सालमा पञ्चायती शासनको विरुद्धमा अहिले पनि देशमा शासन गर्ने नेताहरुले जनतालाई सडकमा उतारेर जन आन्दोलन संघोस नै गरिसकेका थिए । जतिबेला जताततै जुलुस, ढुंगामुढा, धर्ना अनि नाराबाजी हुन्थ्यो । कतिपटक त राज्यपक्षले कर्फ्यु पनि जारी गरेको हुन्थ्यो र गरेको थियो । जन आन्दोलन चर्को रुप लिएपछि अन्तिममा ती नेताहरुको मात्र होइन जनताले आफ्नै जीत भएको  महसुस गरे । देशमा प्रजातन्त्रको उदय भएको मलाई अलि अलि याद छ । त्यतिबेलातिरको कुरा हो, गाउँबाट जिजु हजुरआमा काठमाडौ आउनुभएको थियो र उहाँले मेरी आमा र मलाई घोडेजात्रा हेर्न टुँडिखेलमा लिएर जानुभएको थियो । घोडेजात्रा हेर्न आउने मानिसको भीडले मलाई झण्डै त्यही किच्याएन । घोडेजात्रा हेर्न आउने मानिसहरुको टाउको टाउकोमा चढेर मलाई मेरी आमा भएको ठाउँसम्म पुर्‍याइएको थियो र जिजु हजुरआमालाई पछ्याएर जानुको परिणाम थियो त्यो  ।

दिनहुँजसो मेरी आमाको पसलअघि उभिएर चियाको चुस्की लगाउदै केही मानिसहरु घन्टौ सम्म बातचीत गर्दथे । सायद उहीँ राजनीति र राजनैतिक नेताहरुको बारेमा नै बातचीत नै हुने गर्थियो । सधैं यिनीहरू के कुरा गर्छन् कुन्नि भन्ने मलाई लाग्थीयो । त्यतिबेला म सात/आठ वर्षकीमात्र थिएँ । सहरको चोक चोकमा रहेका चिया पसलमा अहिले हुने गरेको चिया गफ मैले ३०/३५ वर्षअघि मेरी आमाको चिया पसलमा देखिसकेकी थिएँ । तर त्यतिबेला म कुरा भने बुझ्ने उमेरकी थिईंन । केही वर्षपछि मेरो बुबाको ठेक्कापट्टा हुने साईटतिर हामी स-परिवार बसाइँ सर्यौ । त्यहाँ मेरी आमाले किराना पसल खोल्नु भयो । मेरा दाजुहरु र म त्यहीँ हुर्कियौ र बढ्यौं..! त्यसको केही वर्षमा मैले धेरै कुरा बुझ्न थालिसकेकी थिएँ, म किशोरी उमेरमा हिँडिरहेकी थिएँ । मैले धेरै दुख भाेगेको नभएपनि मेरो आमा- बुबाको संघर्षशील जीवनलाई नजिकबाट बुझेकी थिएँ । मेरी आमा बिहान ५ बजे उठनु भएदेखि सुत्नुभन्दा अघिसम्म आफ्नो पसलमा काममा गर्नुहुन्थ्यो । अहिले मलाई यस्तो लाग्छ कि उहाँ मेसिन सरह काम गर्नुहुन्थ्यो । मेरो बुबा पनि खाली समय बस्नु भएको मैले कहिल्यै देखिनँ ।

जब २०५४-०५५ सालमा मैले एस.एल.सी.परीक्षा दिएकी थिएँ, त्यतिबेला मेरो बुबा मलाई नर्स पढाउन चाहनुहुन्थियो र मेरी आमाले सिलाई बुनाई सीप सिकाएर सिलाई पसल किनिदिने सोचमा हुनुहुन्थियो । उहाँहरु मलाई यो बनाउँछु र त्यो पढाउँछु भनेर केहीबेर जुहारी नै चलेको थियो । म भने उहाँहरुको अगाडि टुलुटुलु हेरेरमात्र बसिरहेकी हुन्थें । उहाँहरुको उद्धेश्यभन्दा पनि मेरो उध्देश्य अर्कै थियो । म बिहानी समयमा कलेज पढेर दिउँसो जागिर खान चाहान्थे । किनकि म आफ्नो आमाबुबाको दुख र संघर्ष कम होस् भन्ने चाहन्थें । उहाँहरुको  जीवन संघर्षमा थोरै भएपनि साथ दिन्छु भन्ने मलाई लाग्थियो । त्यतिबेला उहाँहरुलाई काठमाडौंमा चार-चारजना छोरा-छोरीलाई प्राइभेट स्कुल पढाउन र हुर्काउन निकै गाह्रो थियो । २५/३० वर्षअघि अहिलेको जस्तो नेपालीको हात हातमा मोबाइल, टेलिफोन, कम्प्युटर र ल्यापटपको सुविधा थिएन । धनी व्यक्तिका घर, व्यापार गर्ने व्यापारीको पसल वा किराना पसलमा मात्र टेलिफोन उपलब्ध हुने गर्थियो । सामान्य मानिसको दैनिक पत्रपत्रिका र रेडियो किन्ने मात्र हैसियत थियो । मेरो बुबाले कहिलेकाही गोरखापत्र र अन्य केही पत्रपत्रिका किनेर ल्याउनुहुन्थियो र सायद उहाँको आखा कमजोर भएकाले होला पत्रिका मलाई नै पढ्न लगाउनुहुन्थियो । मेरा दाजुहरु त बुबाले हप्काउनुहुन्छ भनेर छेउमै पर्दैनथे । म भने सधैंजसो आमाबुबा वरिपरि हुने गर्थें । मलाई पत्रपत्रिका र पुस्तक पढ्न असाध्यै मन पर्थियो । आमाबुबाले दाजुहरु र मलाई खान, लाउन र स्कुल पढाउन अभाव खेप्न दिनुभएन । तर आधुनिक वस्तुहरुको उपभोग गर्न सुख, सुविधा हामीले त्यति पाएनौ । अरुको घरमा कलर टेलिभिजन हुन्थ्यो, हामीले ब्ल्याक एण्ड ह्वाइट टेलिभिजन हेरेर चित्त बुझाउनु पर्थियो ! म त्यही टेलिभिजन हेरेर र रेडियो सुनेर हुर्किएकी थिएँ । म सानी छँदा आमाबुबाले विश्वज्योति र रञ्जना हलमा केही नेपाली/ हिन्दी चलचित्र हेर्न लैजानुभएको थियो ।

त्यतिबेला एस.एल.सी.परीक्षा दिएपछि ३/४ महिनाको खाली समयको बेला एकदिन मेरो स्कुलका साथीहरु रीना, मुनु र म कुमारी हलमा बलीउडका नायक शनि देवलको ‘बोर्डर’ फिल्म हेर्न गएका थियौ । ‘बोर्डर’ फिल्म हेरिसकेपछि पुतलीसडक आउनुपर्नेमा हामी बाटो भुलेर सानो गौचरण, ज्ञानेश्वरतिर लागेछौ, एक घण्टा बितिसक्दा पनि हामीले आफ्नो बाटो चिन्न नसकेर हरायौ । एक घण्टापछि मात्र हामी बल्लबल्ल पुतलीसडकमा पुग्यौं । हामीले पुतलीसडक जाने बाटो कहाँबाट जाने हो भनेर कसैसँग सोध्ने बुद्धि आएन । अहिले पनि मलाई कुमारी हलको बाटो हिड्डुल गर्दा त्यतिबेला स्कुलका साथीहरूसँग फिल्म हेर्दा हराएको घटना याद आउने गर्छ । केही वर्षपछि म सधैं हिँड्ने बाटाको छाप्राहरु सडक विस्तार गर्न हटाएको अवस्था थियो । त्यही बाटोमा रहेको ढुंगेधारा र पाटी भत्काइएको थियो । पहिले पहिले देख्ने बस्ती बिस्तारै आधुनिक सहरको स्वरुप लिईदै थियो । स-साना घरहरु भव्य महल बनिरहेका थिए । त्यसरी नै म बालिकाबाट किशोरी अवस्थामा बढ्दै थिएँ ।

एस.एल. सी. नतिजा आएपछि म काठमाडौको बागबजारस्थित पद्मकन्या बहुमुखी क्याम्पसमा आइ. ए. (प्लस टु सरह) पहिलो वर्षमा पढ्नेक्रममा  थिएँ । हाम्रो पालामा क्याम्पसलाई कलेज भन्ने गर्थियो । कलेज गएको सुरु-सुरुका दिनहरु मलाई अझै ताजा छ । पहिलो दिन मेरो बुबाले कलेजको गेटसम्म छोडिदिनु भएको थियो । अनि कलेजको गेटबाट बिस्तारै बिस्तारै म आफ्नो कदम बढाएर भित्र पसेकि थिएँ । पहिलो दिन बिहान ४ बजे उठेर कलेजको साडी (युनिफम) लगाउन दुईघण्टा समय लाग्यो, मलाई पहिलो पटक साडी लगाएर जाँदा कतै लडिएला कि भन्ने डर पनि त्यतिकै थियो । केही थाहा थिएन, पढ्ने कक्षा कोठा कता हो कता मलाई ठम्याउन गाह्रो भयो । ७७ वटै जिल्लाबाट आफ्नो उज्ज्वल भविष्य बनाउने उध्देश्यले काठमाडौंका कलेज पढ्न युवायुवतीहरु आएका थिए । आधाभन्दा बढी संख्यामा रहेका प्रायजसो युवतीहरु त्यहि कलेजमा पढ्न आउनेको भीड थियो । त्यतिखेर मैले चिनेजानेको कोही साथी पनि थिएन । मलाई पढ्ने कक्षा कोठा चिन्न र विषय अन्तर्गतको कक्षा कोठा पत्ता लगाउन गार्‍हो भयो । एताबाट उता एक युवतीहरुको हुल आफ्नो कक्षा कोठामा दौडिन्छन् र उताबाट एता फेरि अर्को युवतीहरुको हुल दौडिने सिलसिला चल्थियो । मैले आफ्नो कक्षा कोठा पत्ता लगाउन बल्लबल्ल एक घण्टा नै समय लाग्यो ।

त्यहीक्रमले समय व्यतीत हुदै थियो । आइ.ए. पहिलो वर्षको परीक्षा दिएपछि म जागिरको लागि यताउति भौतारिन थालें, केही महिना बित्यो तर मैले जागिर पाउन सकिनँ । दैनिकी पत्रपत्रिकामा भ्याकेन्सी हेरेर कति ठाउँ जागिरको लागि अन्तरवार्ता दिएँ । मलाई लागेको थियो, प्रजातन्त्र आएपछि आमजनताले चाहेको  कुरा आधारभूत कुराहरू सजिलै प्राप्त गर्न सकिन्छ र उनीहरूका छोराछोरीले सजिलै जागिर पाउँछ भन्ने..! काठमाडौंमा योग्यता र मेहनत गर्ने हातहरु भए कतै न कतै मेरो कदर हुन्छ भन्ने विश्वास लागेको थियो । जता गएपनि कामको अनुभव कति छ ?  शैक्षिक योग्यता के छ ? भन्ने प्रश्न गर्थे म सँग जागिर दिन बसेका व्यक्तिहरु..!

यसैक्रमले समय व्यतीत हुदै थियो । बिहान कलेजबाट फर्किएपछि म मेरी आमासँग दिउँसो आफ्नै किराना पसलमा बसिरहेकी थिएँ । मेरी साथी र उनको भाइ मलाई भेट्न पसलमा आइपुग्यो । मेरी साथी दुई महिनापछि अष्ट्रेलिया जाँदै रहेछ । उनी एउटा स्कुलमा केही वर्षदेखि पढाउने काम गरिरहेकी रहिछन् ।  मैले उनलाई म कामको खाेजीमा रहेको बताएँ । उनले पढाउने स्कुलमा उनी अष्ट्रेलिया गएपछि उनको सट्टामा पढाउनको लागि निवेदन दिन आग्रह गरिन् र उनले स्कुलमा सबै प्रक्रिया पूरा गर्नुपर्छ भनिन् । मेरी साथीले स्कुलमा यो कुरा राख्छु र केही दिनमा फोन गर्छु भनेर भनिन् । उनले त्यसो भनि रहँदा महिनौ देखि जागिर खोजीमा रहेकी प्यासी मलाई ढुंगा खाेज्दा देउता मिलेझैं आभास भयो । केही दिनमा मेरी साथीको फोन आयो र स्कुलमा आउन भनेपछि म आफ्नो महत्त्वपूर्ण कागजात लिएर स्कुलमा गएँ । स्कुलमा अन्तर्वार्ता लिने सह-प्रधानाध्यापक सरले पनि कतै काम गरेको अनुभव छ भनेर सोध्नुभयो, काम गरेको अनुभव हुनलाई कतै काम गर्ने मौका दिइएको छैन अनि कसरी कामको अनुभव हुनु र सर मैले यसै भनें..! आइ.ए. पहिलो वर्षको मार्कसिट र बायोडाटा हेरेपछि सरले प्राइमरी कक्षा कोठामा विद्यार्थीहरुलाई पढाउनको लागि लैजानुभयो । पहिलो पटक कक्षा कोठा अंग्रेजी विषयमा पढाएको भएपनि केही आत्मविश्वास लिएर क्लास लिन गएँ । त्यसपछि सबै कुरा हेरेपछि अन्तर्वार्ता लिनुहुने सरले भोलीदेखि पढाउनु आउनुस् भन्नुभयो । सह प्रधानाध्यापक सरले त्यसो भनेपछि म मनमनै साह्रै खुसि भएँ । मलाई कतिखेर घर पुगेर मेरी आमालाई खुसिको खबर सुनाऊ जस्तो भयो । त्यो दिनको भोलिपल्टदेखि सधैं दुईवटा गाडी चढेर स्कुल पढाउन जाने गर्थें र आउने बेला पनि दुईवटा गाडी चढेर घर आउने गर्थें । यसरी नै बिहान कलेज अनि कलेजको क्यान्टिनमा केही खाजा खाएर स्कुलमा पढाउन जान्थें । यसक्रमले केही वर्षसम्म कलेज पढ्ने र जागिर खाने मेरो रुटिङ नै बन्यो । मलाई बिहानीपखको खाना खानलाई बिदाको नै आउनुपर्थियो । शिक्षण पेशा मर्यादित लागेको कारण अनुभवकै लागि भएपनि मैले तीन वर्षभन्दा अलि बढी नै स्कुलमा पढाएँ ।

बि.ए. पहिलो वर्षको परीक्षा दिनको लागि स्कुलमा बिदा नमिलेपछि स्कुलको काम छाडिदिएँ । परीक्षा सकेपछि  काठमाडौंको ठाउँ ठाउँमा दिनहुँजसो हिँड्ने गर्थें । एकदिन जागिर खोज्ने सिलसिलामा बाटोमा हिँड्दै थिएँ, एउटा घरको पसल छेउमा एक पाँच तारे होटलले आफ्नो अर्काे होटलको लागि आठ सयजना योग्य, जेहन्दार र मेहनती कर्मचारीहरु चाहियो भनेर विभिन्न पदको माग गरेको देखें । मैले पनि रिसेप्सन काउन्टरमा रिसेप्सनिष्ट/ पिआरओ पदको लागि आवेदन फारम भरें । आवेदन फाराम भरेको एक हप्तामा मलाई फोन आयाे । हतार हतारमा फोन भएको ठाउँ गएर फोन उठाएँ” फलानो अफिसबाट बोलेको, तपाईं छनौट पर्नु भएको छ भन्यो र भोलि अफिसमा अन्तर्वार्ताको लागि यति बजे आफ्नो अनुभवपत्र र शैक्षिक योग्यताको मार्कसिट ल्याएर आउनुस् भनेर फोन राखिदियो ।” मैले हतार हतार मेरी आमालाई सुनाउन थालें, आमाले ल ल भोली अन्तर्वार्ता राम्रोसँग दिनु भन्नुभयो । मलाई कहिले भोली होला भन्ने भयो त्यो रात निद्रा परेन, ओछ्यानमा ४/५ पटक कोल्टे फेर्दा बल्लतल्ल निदाएँछु ।

अफिसको पार्किङ एरियाबाट पनि बाहिर रोडसम्म झण्डै दुई हजार युवायुवतीहरु अन्तर्वार्ताको लाइन लागेको थियो । लगभग डेढ घण्टापछि मेरो अन्तर्वार्ता दिने पालो आयो । अन्तर्वार्ता दिँदा मलाई भोलिबाट काम सुरु हुन्छ झै लागेको थियो तर दुई महिनाको ट्रेनिङ्ग लिएपछि मात्र काम पाउने कुराले रिङ्गटा लागेझैं भएको थियो । तैपनि गर्छु भनेर राम्रोसँग अन्तर्वार्ता दिएँ । दुई महिना ट्रेनिङ्ग प्राप्त गरेपछि त पक्कै जागिर पाउछु भन्ने लाग्यो । अफिसको सर म्याडमले तीन दिनपछि तोकिएको समयमा फर्मल ड्रेसमा आउनु भने । बिहानै ८ बजे पुगिसक्नुपर्ने र दिउँसो चार बजेसम्मको ट्रेनिङ्ग लिनुपर्ने रहेछ । एक टाइम खाना र खाजा खाने ब्रेक टाइम बाहेक अरु ट्रेनिङ्गमा घन्टौ सम्म उभिएर बिताउनु पर्दा मलाई गाह्रो पर्थियो । ट्रेनिङ्गको समयमा घन्टौ सम्म उभिँदा मलाई आफूलाई यस्तो लाग्थ्यो, लगाम लगाएको घोडा जस्तो वा पिजडामा थुनिएकी मैना चरीजस्तै..! दायाँबायाँ मुन्टो यताउता गर्नै नमिल्ने एकोहोरो ध्यान ट्रेनिङ्गमा लगाउनुपर्ने..! मलाई कहिले दुई महिना सकिएँला जस्तो भएको थियो ।

ट्रेनिङ्ग सकिन दुई हप्तामा होटलको हेड डिपार्टमेन्टले फेरि ट्रेनीहरुको छनौट गर्छ भन्ने कुरा आयो । छनाैट प्रकृयाबाट पाँचसय जनामात्र ट्रेनीहरुमा छानिने भन्ने कुरा आयो । म छनौटमा पर्छु भन्ने विश्वास लागेको थियो । मेरो लगनशीलता, मेहनत र योग्यताले मैले जागिर पाउछु भन्ने थियो । ट्रेनीहरुबीचमा कुरा सुन्दा तारे होटलमा जागिर पाउन त सोर्सफोर्स र भनसुन पनि लाग्छ रे..!  त्यतिखेरै म गहिरो सोचमा परेँ । ट्रेनिङको अवधिमा ट्रेनीहरुमध्ये म पनि राम्रो ट्रेनी थिएँ, एक मनले म छनौटमा परिन्छु भन्ने लागिरहेको थियो र अर्को मेरो दिमागले भन्थियो कि सोर्सफोर्स र भनसुन घोटले प्रवृत्तिबाट होटलको हेड डिपार्टमेन्टले कर्मचारीहरु राख्यो भने त म छनौटमा पर्दिनँ भन्ने..! यति धेरै मेहनत र लगनशील भएर ट्रेनिङ्ग गरेको कतै व्यर्थ हुने भो भन्ने मलाई असाध्यै पीर पर्यो । फेरि सोर्सफोर्स लगाएर जागिर खाने युवतीमा म परिनँ । म आफ्नो योग्यताले जागिर खान चाहान्थे । केही ट्रेनी साथीहरु ट्रेनिङ गाह्रो लागेर बीचमा छोडिसकेका थिए, केही ट्रेनी साथीहरूका आफ्नै मान्छे त्यही तारे होटलमा काम गरेको भेटें र केही संख्यामा म जस्तै आफ्नो योग्यता र लगनशीलता विश्वास गर्ने थिए । मलाई ट्रेनिङ्ग अवधी पूरा गर्ने वा छोड्ने भन्ने मलाई दोधार भयो । जागिर खान सोर्सफोर्स घोटले प्रवृत्तिको घोरभत्सना गर्दै मैले त्यो तारे होटलको ट्रेनिङ्ग पूरा हुन १५ दिन बाँकी हुदा नै ट्रेनिङ्ग छाडें ।

यसरी मैले जागिरको खोजी गर्ने सिलसिला फेरि अर्को क्षेत्रतिर लागि परें । तारे होटलको ट्रेनिङ्ग छोडेको एक महिनापछि एक पत्रिकाको अफिसमा रिपोर्टिङ र मार्केटिङ गर्ने कामको अवसर पाएँ । जुन अफिसमा ५/६ जना कर्मचारीमध्ये सिनियर कर्मचारी भएर काम गरें । त्यतिबेला केही पत्रिकामा २/३ वटा लेख, रचना प्रकाशित भइसकेको  थियो । आफूले रुचाइएको पेशा पत्रकारिता भएकाले तलब थोरै भए पनि लगनशील र मेहनतले काम गरें । पत्रिकामा काम गर्ने क्रममा चैत बैशाखको गर्मी अनि पुस माघको जाडो नभनि संघर्ष गरें । यसरी पत्रिकामा मैले ३ वर्ष काम गरें । इमानदार, लगनशील र मेहनती भएर काम गर्दा पनि कतिपय ठाँउमा कतिपय व्यक्तिको अघि टिक्न गार्‍हो पर्दो रहेछ । यसरी काम गर्दा एक महिनाको २ वटासम्म मेरो जुत्ता फाट्ने गर्थियो र घाममा हिँड्दा कालो न कालो भइसकेकी थिएँ । तर पनि मलाई यही पेशा सबैभन्दा उत्कृष्ट लाग्यो । ठाँउ ठाँउमा कामको  खोजीमा भौतारिँदा होस् वा २/३ ठाउँमा काम गरेको अनुभव र  तितामीठा भोगाईले मलाई धेरै कुराहरु पाठ सिकाएको थियो । मैले जीवनमा कहिल्यै चाप्लुसी र अरुको गुलामी गरिनँ । पैसा र भौतिक सुख सुविधाको लागि न त पित पत्रकारिता नै गरें । म आफ्नो कर्ममा विश्वास गर्थें र आफ्नो उध्देश्य लिएर अघि बढी रहें । जीवनमा केही अनुभव भोगाईहरु र भविष्यमा नयाँ उध्देश्य लिएर म आफैले काम गर्न थालें । आफ्नो आमाबुबाले एउटी छोरीमाथि सधैं गर्व गर्नसक्ने ठाउँ बनाएकी छु । अहिले पनि म निरन्तर सञ्चार एवं सामाजिक क्षेत्रमा सक्रिय छु ।

(लेखक नवतलाश राष्ट्रिय मासिककि सम्पादक हुनुहुन्छ)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय