✍🏻 कमला शाक्य ‘ सृष्टि ‘
गाउँबाट शहर छिरेको पनि यतिका वर्ष भइसकेछ नि..! दिन- रात नभनी काम गर्दा पनि दुई छाक टार्न, एक सरो लाउन र कोठा भाडा तिर्न पनि धौ धौ..! हैन, ती मान्छेहरु कसरी बाँच्छन् खै ? राम्रै लाउँछन्, मीठो मसिनो खान्छन् र छोराछोरीलाई पनि बोडिंग स्कुलमा पढाका छन् ! म भने दस नङ्ग्रा खिएर १२-१३ घण्टा काम गर्दा पनि जहिल्यै नि अभावको जिन्दगी बाँच्नु पर्या छ ।

मेरी बुढी बीनालाई एउटा गतिलो धोतिसम्म हाल्दिन सकेको छैन । आफ्ना छोराछोरीलाई मिठो मसिनो खुवाउनु पनि दशैं आउनु पर्छ । आफ्ना छोराछोरीलाई सरकारी स्कुलमा पढाउनु पर्या छ । मेरी बुढी मलाई बुझ्छिन् र पो । १७-१८ हजारको पियनको तलबले महिना भरिको खर्च कसरी पुर्‍याउन सक्छिन् कुन्नि ! कहिलेकाहीँ त यसो सोच्ने गर्छु, कस्तो जिन्दगि पाएछु नि मैले ? हैन, मैले काम गर्ने तौर तरिका भएन कि क्या हो ! अब चाँहि अर्कै काम गर्नु पर्ला जस्तो छ । महिना भरिमा १ /२ हजार पनि नबच्ने..!

स्वाभाव नि मेरो कस्तो के.., कसैको सामु झुक्नै गाह्रो..! कसैसँग चाप्लुसी गर्न नजान्ने परें । ए साँच्चि, एक जना चिनेको ठेकेदारले एउटा काम मिलेर गरौ भन्दैछ, ऊसँग मिलेर काम गर्नु पर्छ कि क्या हो । काम गर्दागर्दै के सोच्न पुगेछु कुन्नि..! हाकिम साबले चिया मगाको अघि नै हो .., अब कराउने भो ।

कति छिटो साँझ पर्न लागेछ । डेरा पनि जाने बेला भो । आज डेरामा पनि छिटो जानु मन छैन । छिटो गएकी बुढीको खाली कचकच सुन्नुपर्छ । एक प्याक तान्न भट्टी पसलतिर पस्नु पर्ला..! अँ डेरा जाने बाटैमा छ भट्टी पसल जानुपर्ला ।

ए साउनी, एक गिलास रक्सी दिनुस् त..? कति छिट्टै साउनी गिलासमा ल्याई पो हालिन् । धेरै दिन भो .., मासुको स्वाद नपाको ! हाफ प्ल्येट सुकुटी खानु पर्ला । साउनी, ए साउनी, हाफ प्ल्येट सुकुटी पनि दिनुस् त दिनुस् न । आज फेरि पसलमा पनि भीड कस्तो भाको ! खाने मान्छे अरु पनि भएर सुकुटी बनाउन पनि समय लाग्यो । कोठा जान ढिलो भइसक्यो अब बुढीले मारछिन् आज..! हतार-हतार अडर गरेको खाएर कोठातिर लागें ।

आमा..! बा आउनु भो, छोरी रोशनिले भन्दै थिई । छोरा पुन्टे सुति सकेछ । बुढीले खाना पस्कँदै भनिन्, “पर्सी तिजको दर खानलाई माइत जान पर्छ बुढा, मलाई ४/५ हजार पैसा खर्च चाहिएको छ ।” खै हाकिम साबलाई पैसा मागि हेर्छु, कति दिन्छ, हाकिमले दिएपछि दिउँला नि !

खाना खाइवरि म टिभी हेर्न लागें.! टिभीमा पनि केही राम्रो कार्यक्रम नआउने, खाली त्यही भ्रष्टाचारी, घुस खाने नेताहरुको समाचार अनि बाढीपहिरो, हत्या हिंसाको गतिविधि भन्दा केही नदेखाउने..। जताततै जुलुस, धर्ना अनि बिरोधको गतिविधि देख्नुपर्ने । खै के हुन लाग्यो यो देशमा..? यो साउन महिनामा झरीले ठाउँ ठाउँमा बाढीपहिरो गइरहेको छ ।

बुढीलाई कसरी माइत पठाउनु होला..? खानपिन गरिवरि आफ्नो घरधन्दा सकेर बीना मेरो नजिक बस्न आईन् । मैले भनें बाढी पहिरोले ठाउँ ठाउँमा बाटो रोकिरहेको छ, कसरी तिमी माइत जान्छौ हँ, बुढी ! उनले भन्दै थिइन्, दुई वर्ष भो कोरोना महामारीले गर्दा माइत जान पाएकी छैन, यसपाली त मैले जसरी नि माइत जानु पर्छ भन्दै बुढी जिद्दी गर्दै थिइन्, ‘मेरा बृद्ध आमाबुबा आश गरेर बाटो हेर्दै बस्नुहुन्छ..! लौ, अब तिमी जिद्दी गर्छौ भने त जाऊ म के भनू..! लौ अब सुतौ, बिहान सबेरै उठ्नु पर्छ ।

बिहान उठ्दा यसो घडी हेरेको कति छिटो ६ बजिसके छ । बीनाले चिया बनाएर ल्याईन् । उनले भन्न थालिन्, आज अफिसबाट छिट्टो आउनुस् है । भोलि माइत जानलाई केही सरसामान किन्नु छ । ल, कति बिहान बिहानै किचकिच गरी राखेकि, म हात मुख धुन लागें । खाना खाइवरि काममा जान तयार भएँ । उफ्, कति जाम हो, मान्छे भन्दा बढी मोटर गाडी र बाइकको लस्कर छ, यहाँ । यस्तो महँगीमा मान्छेले महँगा महँगा गाडी चढ्न सकेका छन्, आफ्नो भने एउटा साइकल किन्न सक्ने क्षमता पनि भएन । लौ, आज म समयमा अफिस नपुग्ने भएँ । झण्डै एक घण्टाको जाम परें ।

बल्ल तल्ल आइपुगें अफिस ..! म पुगेको एकछिनमा हाकिम साब पनि अफिस आउनु भो । सलाम साब..! हाकिम साबले सलाम सलाम भन्दै आफ्नो कोठाभित्र छिर्नु भो । रविन्द्र, एक गिलास मन तातो पानी ल्याएर मेरो कोठामा आऊ है भन्नु भो । हतार हतार गर्दै पानी तताएर हाकिम साबको कोठामा छिरें ।

तपाईंले पाँच हजार रुपैयाँ पेश्की माग्नु भाको हैन भन्दै एउटा चिट लेखेर दिनु भो, एकान्टेनलाई यो चिट दिएर पेश्की माग्नुस् है भनेर हाकिम साबले भन्नु भो ! मनमनै खुसि भएँ र अब बुढी पनि खुसि हुन्छिन् । अफिसको काम गर्दा गर्दै के सोच्न पुगेछु..! यसपाली त दशैं तिहार अलि ढिलै छ क्यारे । हाकिम साबले दशै तिहारको तलबमा बोनस दिन्छ कि ! या त सबै कर्मचारीलाई तलब बढाउछ कि ! मैले पनि यो अफिसमा पियन भएर काम गरेको ५/६ वर्ष भइसक्यो ।

बुढीले आज छिटो आउनुस् है भन्दै थिइन् ! हाकिम साबलाई छिटो जानू छ भन्नु पर्ला ! ५ बज्न साथ म अफिसबाट हतार हतार कोठातिर लागें । बुढी बजार जान तयार भएर बसेकि रहिछिन् । बुढाबुढी बजार जाने क्रममा खाद्यान्न वस्तुहरुको भाउ कति आकासिएको हो के भन्दै थिइन् बुढी पनि,  जतासुकै मनपरि भाउ गरेकै छ, सरकारको कुनै निगरानी र नियन्त्रण नै छैन । पसले व्यापारीहरुको मन लागेको भाउ लिने, उफ् नसकिने भो ! बजारमा सामग्री किनमेल गरिवरि कोठातिर हामी लाग्यौं । खाना खाइसकेपछि म आराम गर्न लागें । आराम गर्दागर्दै कतिखेर निन्द्रा लागेछ मलाई पत्तै भएन ।

बिहान झिसमिसेमा मुख धोईवरि बुढीलाई माइत पठाउन पुर्याउन बसपार्क गएँ । बुढील र पुन्टेलाई बिदा गरिवरि छोरी रोशनिलाई स्कुल पुर्याएँ । अफिस जाने क्रममा हिँड्दा हिँड्दै गहिरो सोच्न पुगेछु..! अब यो देश हामी जस्तो गरिब निमुखाको रहेन । दस नङ्ग्रा खियाएर कडा मेहनत गर्दा पनि जहिल्यै पनि उस्तै..! यो गरिब जिन्दगी पनि व्यर्थै मात्र रहेछ..! अब चाहि खाडि मुलुकतिर पैसा कमाउन जानुपर्छ होला..! ५ वर्ष विदेशमा दुख गर्दा त कसो हामी गरिबको जिन्दगी नफेरिएला..!!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय