✍रमेश कार्की 

श्रीमान र श्रीमती भनेका दुई धुर्बका चुम्बकीय धातु हुन् । यिनीहरुलाई एकै ठाउमा जीवनकाल सम्म राखेर एउटै धातु बनाउन एउटै धुर्ब तिर आकर्षण हुन बनाउन पर्ने हुन्छ । कतिपय कुरामा घरमा श्रीमती श्रीमान भन्दा बाठी हुन्छिन् । उसको अडान र घमण्डले उनीहरुको घर र संन्सार सहज तरिकाले चलिरहेको हुन्छ । श्रीमान भन्दा श्रीमती बाठी भइन् भने यो समाजले उनीहरुलाई “पोथी बास्न लाग्यो” काटेर धुरी कताउन पर्छ भनेर कुरा काट्ने गर्छन् । तर कुनैपनी घर सुखमय चल्नको लागि श्रीमान श्रीमती “एक रथको दुई पाङ्रा” झै बराबर भारी र जिम्मेवारी बोकेर चल्न सक्न पर्छ अनि मात्र त्यो घरमा खुसी छाउन सक्छ । समाजमा कतिपयको घरमा अझैसम्म पनि “श्रीमती घरकी लक्ष्मी हुन्” भन्ने गर्छन् तर उनलाई घरको नोकरनी झै कामले लदाएर दिनरात खाना पकाउने, कपडा भाडा धुलाउने जस्ता घरका सम्पूर्ण कामहरु गराएर राखेका हुन्छन् ।

उनलाई बाहिरी परिवेश बाहिरी दुनिया देखाउनु भनेको आफ्नो खुट्टामा बन्चरो हान्नु बराबर हो भन्ने मानसिकतामा अल्झिएर बसेको पनि देख्न सकिन्छ । हो आफ्नो बालबालिकाहरुलाई हुर्काउन पुरुषको भन्दा महिलाको धेरै ठूलो भुमिका रहन्छ तर हरेक बाहिरी परिवेश र कुनैपनी संघसंगठनमा केवल पुरुष मात्रै सफल भएका छन् र ? विभिन्न देश बिदेशको अवस्थालाई हेर्न सकिन्छ कुनैपनी संघसंगठन होस् या सरकारी कार्यलयमा महिला पुरुष बराबर काम गरिरहेका हुन्छन् । तब त ती देशहरु विकसित र उच्च स्तरमा छन् । कतिपय खण्डमा नेपाली समाजमा एउटा दुइटा महिलाहरुको गल्तीले गर्दा पनि महिला माथी सबै पुरुषहरूले आफ्नी श्रीमती माथी हेर्ने शंकाको बिषय बनाइदिन्छन् । यो समाजले “पुरुषले गरेको सय गल्ती बराबर महिलाले गरेको एउटा हुन्छन्” पुरुषले आफ्नो सयौं गल्तीलाई सामान्य रुपमा लिएर हिन्छन् भने महिलाले गरेको एउटा सानो गल्तीलाई लिएर मनमुटाव र झैझगडा सुरु गर्ने गर्छन् अनि अन्तिममा सम्बन्ध विच्छेदको बाटो तर्फ मोडिन पुग्ने गर्छन् । तर कतिपय घरमा महिलाबाट पनि पुरुषहरू पीडित भईरहेका हुन्छन् । जसको कारण पनि त्यो घरमा सुख कहिले हुन सक्दैन ।

नारी धर्ती हुन भनेझै उसले धेरै सहन सक्छ भनेर पुरुषहरूको सबै गल्ती, गाली र पीडा सहेर आफ्नो जिन्दगी बालबालिकाहरुको भविष्यको लागि भनेर बन्दकी राखेर बाचिरहेका हुन्छन् । उसले कुवाको भ्यागुतो झै भएर जिउन परेको हुन्छन् र त्यो घर बिना एकपाङ्राले चलेको रथ झै हुन्छ । जसलाई गन्तव्यमा पुग्न सारै कठिनय र भारी पर्न जान्छ । कतिपय शिक्षित घरमा पनि झैझगडा र सम्बन्ध विच्छेद सम्म हुन पुग्छ किनकि घरको श्रीमान श्रीमती दुवैको आ-आफ्नो सोचाइ र काम गराइको तरिका फरक हुन पुग्दा एकअर्कालाई मन नपर्न र बिबादास्पद र संन्काको बिषय बन्न पुग्छ । अनि त्यहीँ बाट घरमा झगडाको बीउ उम्रन सुरु हुन्छ अन्तत सम्बन्ध टाढिन बाध्य हुन्छन् ।

यो समाजमा रहन बाच्न केवल शिक्षाले मात्रै हैन समझदारी र बुझाइमा पनि भरपर्ने गर्दछ । श्रीमान श्रीमती बिच एकजना आगो भए अर्को पानी हुन पर्छ भनेझैं जहिले पनि आफ्नो गल्तीलाई स्विकार्दै आफू मौन हुन सक्यो भने त्यो घरमा विवाद कम हुन सक्छ तर आफ्नो गल्तीलाई स्विकार्न नचाहदा त्यो घरमा आगो बल्न सक्छ । जुन घरमा श्रीमान श्रीमती राम्रो मेलमिलाप हुन्छ त्यो घरको बालबालिका अवश्यनै सकारात्मक बाटो र गन्तब्य सम्म पुग्न मद्दत पुगेको हुन्छ । अन्ततः श्रीमान श्रीमती बिचको सम्बन्ध टिक्न समझदारी इमानदारीता र दुबैले रीसलाई काबु गर्न सक्यो भने मात्रै जीवनमा सफल हुन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय