✍ टि.पि.तिमल्सिना ( रसुवाली कवि )
आगोको रापझैं भर्भराउँदो उमेरमा
आगोका बिउहरू रोप्न
जब ऊ रोल्पा र रुकुम उक्लेको थियो
उसका प्रत्येक जोशहरू र होसियारका विचारहरू
कविता जत्तिकै शक्तिशाली थिए ।
जतिबेला तपाईंबूढानीलकण्ठ
स्कूलमा अङ्ग्रेजीको भाषाको दास हुनुभएको थियो
तपाईंकै उमेरको एउटा केटो
रोल्पा र सल्यानका दलित बस्तीमा मोही पिउँदै
देशमा समाजवाद ल्याउँछु भन्थ्यो
सबैलाई एउटै शिक्षा प्रणाली चाहिन्छ भन्थ्यो
मलाई तपाईं भन्दा ऊ धेरै शिक्षित लाग्थ्यो
सोध्नुहुन्छ होला,मचाहिँ कस्तो लाग्थ्यो ?
म भन्छु,तपाईं ठग लाग्थ्यो
तपाईं बुर्जुवा लाग्थ्यो
तपाईं सोध्नुहुन्छ होला,कसरी नि ?
म भन्छु,तपाईंलाई समाज-व्यवस्थाले जे सिकाउँथ्यो
त्यो विभेद थियो
अर्थात् तपाईं शिक्षित हो भन्ने कुरामा
अहिले पनि विश्वास छैन मलाई ।
त्यही छापामार केटो अहिले
खुलामञ्चमा कविता सुनाउन आएको छ
देशको ध्यान ऊ तिर केन्द्रित छ
थुप्रैलाई उसको कविता बिझाइरहेको छ ।
(तपाईंलाई यी हरफहरू पनि कविताजस्तो लागिरहेको छैन ।
कतै न कतै यी हरफ पनि न्यायको पक्षमा छन् ।)
ऊ सुनाउन थाल्छ कविता-
कसरी उत्पीडितहरूले उठाए बन्दुक !
कसरी गाए झुप्राका मानिसहरूले अन्तर्राष्ट्रिय गीत !
अचम्मलाग्दो कुरा
यो सगरमाथाहरूको देशमा
यो बुद्धहरूको देशमा
यो सीताहरूको देशमा
यो सतीदेवीहरूको देशमा
किन मानिसहरूले बोके होलान् बन्दुक ?
इतिहास र मिथहरूबाट उठेर
कृष्ण किन आए होलान् कुरुक्षेत्रमा ?
यो अरनिकोहरूको देशमा
यो भीमसेन थापाहरूको देशमा
यो काजी अमरसिंह थापाहरूको देशमा
ऐतिहासिक भण्डारखाल पर्वको विरुद्ध पनि ।
किन उठे आवाजहरू ?
छापामार सुनाइरहेछ कवितामा ।
थुप्रै भुईँमान्छेहरू छरिएका छन् शान्तिबाटिकाको वरिपरि
ऊ आत्तिएको छैन
निर्धक्क सुनाइरहेछ कविता ।
(केही बौद्धिकहरू छन् रानीपोखरीनेरको चेपमा
पानी बर्सन खोज्दैछ )
केही प्रतिनिधि अनुहार जिल्ल परेका छन्
जो सर्वदलीय भन्न रुचाउँछन् आफूलाई
कलाको लागि कला उनीहरूको रुचिको विषय हो
उनीहरू कवितालाई
मानिसहरूको दर्दको आवाज भन्न सक्दैनन्
भन्छन् त ईश्वरको वरदान
लेख्न त माथिकै ईश्वरकै वर चाहिन्छ मित्र
सरस्वतीको भक्त हुँ मित्र !
र, एउटा झ्याउलो छ उपस्थिति सबै सामु
देशका ख्यातिप्राप्त मानिसहरूले
केही न केही कला र साहित्यमा लेख्नुपर्नेछ ।
ओस्कार अन्तर्राष्ट्रिय फिल्म कलेज सुकेधाराबाट
सिनेमा निर्देशनमा स्नातक छन् एकजना निर्देशक
तिनको चराइरहेको छ दिमाग
यस्तो सामान्य राजनीतिक विषयलाई
उतार्न सकिँदैन कुनै राम्रो दृश्यचित्रमा
कला सामान्य मानिसको औकातको कुरा हुँदै होइन
फिल्मको बौद्धिक भाषा जोकोहीले बुझ्नै सक्दैनन
हलिउडमा कहिल्यै यस्तो विषयमा सिनेमा बनेन ।
एकजना छन्
चित्रकार, ख्यातिप्राप्त
उनलाई पनि झ्याउ लागिरहेको छ
कुनै पनि चित्रमा यस्तो दृश्य घुसाउनु मनासिव होइन
कलाको मर्म सामान्य मानिसको औकातभित्र पर्दैन
यो ईश्वरको अनुकम्पा हो ।
अर्का एकजना छन कान्तिपुर दैनिकका स्तम्भकार
उनलाई पनि चोट परेको छ
प्रचण्ड, बाबुराम र बादलहरूलाई समेटिएको कलममा
यो जाबो फुच्चेलाई घुसाउनु
हुन्न, हुन्न, हुन्न !
थुप्रैथुप्रै मानिसहरू
जो यो देशका बौद्धिक हुन्, जान्नेसुन्ने हुन्
उनीहरूले छापामारको कवितामा कुनै सौन्दर्य भेटेनन्
र त आफ्नो कलामा भर्न सकेनन्
तर, हजारौं मानिसले कविता मन पराए
हजारौँ मानिसले ताली बजाए
हजारौँ मानिस रोए कवितासँगै ।
यो देशको हुनेखाने वर्गको सानो टुकडीले भन्यो-
छापामारले लेखेको कविता कविता भएन !
सौन्दर्य पक्षधरतामा गायब भयो
कलालाई नाराले खाइदियो ।
प्रिय पाठक
हुनेखाने वर्गको स्वर्गमाथि हमला भएको कवितामाथि
शासनहरूको हमला गरेको तपाईंले देख्नुभएकोकै होला !
छापामारको कवितामाथि पनि
बौद्धिक जगतले असफल हमला गर्यो
तर, मेट्न सकेनन् छापामारको हृदयको गीतलाई ।
छापामारलाई
कोही कृष्ण सेन इच्छुक भनेर पढ्छन्
कोही चुनु गुरुङ भनेर सुन्छन्
कोही च्याङ्बा लामा भनेर बुझ्छन्
कोही मोहित, विद्रोही, ध्रुव ज्ञवाली… भनेर चिन्छन्
कोही सामना परिवार भनी सुनिरहन्छन् ।
किन यति सारो लोकप्रिय भएको होला
छापामारको कविता
जसलाई कला र साहित्यले चिन्दै चिन्दैनन्
बौद्धिक, शिक्षितले गन्दै गन्दैनन् ।