प्रिया राना, अमेरिका
हेर्दा पातली सरलक्क परेको जिउडाल, खैरो कर्ली कपाल, मिठो बोली, सबै सँग खुलेर बोल्ने, मिहिनेती र सहयोगिपन । साच्चिकै मैले सुरुमा उसलाई भेट्दा खासै मतलब लागेको थिएन, तर सगै काम गर्दै जादा हामी दुइ एकदम मिल्ने साथी हुन पुगेउ । मलाइ विदेशमा पनि विदेशी एउटा राम्रो साथी भेटे भनेर खुसी लाग्यो । उमेर ३८ बर्स कि पाँच छोरी कि आमा तर उसलाई हेर्दा लाग्थियो भर्खर २४ / २५ बर्षको । सुरुमा मैले उसलाई विश्वास गर्न सकेको थिएँन कि उसका पाँच पाँच ओटी छोरीहरु छन् भनेर तर जब उसका छोरीहरु भेटे अनि बल्ल विश्वास भयो तर पनि म उसको छोरीहरुलाई सोध्ने गर्थे “के उ तिमिहरुको आमा हो?” उनीहरु हास्दै जवाफ दिन्थे हो भनेर, म चाहि होइन दिदि होला भन्थे । हुन पनि हेर्दा आमा छोरीहरु दिदीबहिनी जस्ता देखिन्थे । उ सँग मित्रता नजिकिदै जादा उसको बारेमा जान्ने इच्छा हुन्थियो किनकि मैले उसका बारेमा थोरै अन्य कुराहरु सुनेको थिए त्यसैले उसलाई मैले खुब इच्छा दिदै सोधपुछ गर्थे । कतिपय कुरा त मैले नसोधी उ आफै खुलेर बताउथी । वास्तबमा मलाई उसको खुल्ला स्वभावले प्रभावित पारेको थियो । कहिले नरिसाउने अनि जहिले जो सँग पनि खुलेर जिस्किदै हासेर बोल्ने । मलाई उसको बारेमा केही कुराहरू जान्न मन थियो । अनि उसको बारेमा केही कुराहरु सोध्ने गर्थे ।
हो उ पाँच वटा छोरीहरुको आमा हुन्, तर ति छोरीहरुको बाबा साथमा छैन । मलाई सबैभन्दा अचम्म त्यो बेला लाग्यो जब उसको सबै छोरीहरुका बाबु फरक फरक, तर अहिले कोहि पनि छैन साथमा । हुन त विदेशमा बिहे भनेको क्षणिक मात्र हो विदेशमा विदेशीहरु एउटै सँग पुरा जीवन बिताउने सायद कमै होलान् । प्राय विदेशीहरु तिन चार ओटा बिहे गर्ने गर्छन् । विदेशमा एउटा सम्बन्ध मुस्किलले २/३ बर्ष मात्र टिक्छन् अनि छुट्टीन्छन्, त्यसपछि अर्को सँग बिहे गर्छन्, यहाँ छुट्टीनको लागि ठुलो कारण चाहिदैन बस सानो झगडा भयो भने अलग । हाम्रो देशमा त जति झगडा त्यति माया भन्छन् तर विदेशमा झगडालाई ठुलो रुप लिन्छन् । हो उ पनि सबै पतिहरु सँग सानोतिनो झगडा परेर छुट्टिन परेको थियो । विदेश तिर प्राय बच्चाको अधिकार आमाको हुन्छ त्यसैले बुढाबुढी छुट्टीए पछि बच्चा आमाको हुन्छ । आमाले नै सम्पूर्ण जिम्मेवारी लिनु पर्ने हुन्छ भने बाबाले चाहि महिनामा थोरै पैसा सहयोग गर्ने गर्छन् । त्यसैले त विदेशमा बुढेशकाल सम्म पनि महिलाहरु काम गरिरहेका हुन्छन् । आफ्नो बालबच्चाको लालनपालनको लागि । विदेशी महिलाहरु मिहिनेती हुन्छन् । आफ्नो लागि आफ्नो बालबच्चाको लागि दिनरात काम गर्छन् । त्यसैले प्राय विदेशमा सरकारले महिलालाई विशेष प्राथमिकता दिन्छन् ।
उनी पाँच छोरीहरुलाई एक्लै हेर्दै आइरहेकि थिइन् । छोरीहरुको पालन पोषणको लागि उनी जस्तो सुकै काम गर्न पनि तयार हुन्थिन् । उमेर केही बढी भए पनि अझै उसको पछि लाग्ने केटाहरु तन्नै थिए । कहिले को सँग कहिले को सँग फोनमा बोलिराखेकी हुन्थी । अनि म सधै जिस्काएर सोध्ने गर्थे,”‘आज चाहिँ कुन केटा ब्वाइफ्रेन्ड बनायौ”, अनि उ हास्थियो मात्र । उमेर केहि बढी भए पनि उसको चाहानाहरु कम भएको छैन । हसिली फ़ुर्तिलो कुनै कुरामा पछि नहट्ने । उसले कहिलेकाहीँ एउटा नराम्रो काम गर्ने गर्थियो, तर बिदेशमा त्यस्ता कुरालाई नर्मल नै मान्ने गरिन्छ । जब उनलाई अलि बढी पैसाको अभाव हुन्थियो उनी कलगर्लको रुपमा काम गर्थिन् । हुन त कतिपय विदेशमा महिलाहरु पार्ट टाइमको लागि यस्ता काम गर्ने गर्छन् । जुन काम गर्दा आम्दानी राम्रो हुने गर्द्थ्यो । यो सामान्य कुरा नै हो । मैले कहिलेकाही उसलाई सोध्थे “किन यस्तो काम गर्छौ भनेर” उसले भन्ने गर्थियो “जागिरको पैसाले मैले मेरो परिवार पाल्न उनीहरुका हरेक इच्छाहरु पूरा गर्न गाह्रो हुन्छ । मेरा बच्चाहरु बिरामी हुदा या कुनै चाडबाडमा किनमेल गर्दा बढी रकम आवश्यक पर्छ । त्यसैले कहिलेकाही केही बढी पैसाको लागी बाध्यताले मैले यस्ता काम गर्नुपर्ने हुन्छ, तर यो मेरो काम रेगुलर होइन, अति आवश्यक पैसाको खाचो पर्दा मात्रै ।”
मलाई उ सँग खुब कुरा गर्न मन लाग्थियो । उनी असाध्यै सहयोगी, मलाई कतै जानू पर्यो भने उ सग सहयोग माग्थे । उ जुन बेला पनि हाजिर हुन्थी । मलाई खुब माया गर्थी । उसले चुरोट तान्ने गर्थी, त्यसैले मैले उसलाई प्राय चुरोट किन्दिंथे, उ खुब खुसि हुन्थी । कहिलेकाही अन्य कस्समेटिक समान तथा लुगा पनि किनेर दिन्थे, कहिलेकाही आपत परेको बेला केहि पैसा पनि सहयोग गर्थे । उ सारै खुसि हुने गर्थी अनि म जाहा जान भन्यो उ जुन समयमा पनि जान तयार हुन्थी । म त्यो ठाउँमा एक्लो भएर होला उसले मलाई खुब केयर गर्थि, आफ्नो आमाबाबाले जस्तो, अनि म पनि जिस्किदै “आमा” भनेर बोलाउने गर्थे । उसले पनि मलाइ छोरी भन्दै मेरो छ ओटा छोरीहरु भयो भन्दै जिस्किन्थी । उसले डिउटीको समय प्रायजसो मलाइ केक बनाएर ल्याइदिने गर्थी । उसले घरमा बनाएको केक मलाइ खुब मन पर्थियो, अनि म पनि खुसि हुदै उसलाई “धन्यबाद आमा” भन्दै अगालो हाल्थे । उसका छोरीहरु पनि एकदम राम्री राम्री थिए, एकदम माया लाग्ने, मलाइ असाध्यै माया गर्थे, म पनि उतिकै माया गर्थे ।
उ र म डिउटीको समय साथै बिदाको दिन पनि प्राय सगै हुन्थेउ । बिदाको दिन प्राय हामी हाइकिंग या सपिंग जान्थेउ । मलाइ त्यहाँको भाषा राम्रो सग नआए पनि उसले मलाई इसारामा बुझाउने गर्थी । कहिलेकाही एकअर्काको कुरा नबुझेर खुब हास्ने गर्थेउ, अनि मोबाइलमा ट्रांसलेट गरेर बल्ल बुझ्थेउ । मैले पकाएको चाउमिन उसलाई खुब मन पर्थियो । बिदाको दिनमा मैले उसलाई चाउमिन बनाएर खुवाउथे । उसले प्राय मलाई भन्ने गर्थी “मलाइ नेपाल मनपर्छ, काठमाडौं खुब राम्रो छ है” । अनि मैले सोध्थे कहाँ देखिस् काठमाडौं भन्दा नेटमा हेरेको भन्थि । अनि म कहिलेकाहीँ युटुबमा नेपालको राम्रो राम्रो ठाउँ देखाउथे उ खुब खुसी र उस्त्सुक हुँदै आहा कति राम्रो भन्दै हेर्थी । मैले उसलाई केही नेपाली शब्दहरु पनि सिकाएको थिए । साच्चिकै उसले नेपाली शब्द यति चाडै टिप्थी अनि प्रष्ट नेपाली बोल्न सक्थी म अच्चम्मित हुन्थिए । अझ नेपाली गित सुने पछि दुई हात हल्लाउँदै कम्मर मर्काउदै नाच्दा कोहि नेपालीको डान्सर भन्दा कम देखिन्नथिइन् । कसै सँग नलजाउने उनी म सँग जिस्किदै भन्थी “मलाई नेपाली केटा सँग बिहे गरेर नेपाली बच्चा जन्माउन मन छ” । अझै बढी मङ्गोलियन अनुहार भएको मान्छे मन पराउने । भन्थि “यस्तो केटा सग बिहे गरेर चिम्से आँखा भएको छोरा पाउने रहर छ”
मेरो एकदम रमाइलो साथी थि उ । म कहिलेकाही उसको नामको पछाडी नेपाली थर राखेर उसलाई बोलाउदै जिस्क्याउने गर्थे । उ मख्ख पर्थी । उसले चाहि घरिघरि मेरो लामो कपाल देखाउदै कति राम्रो लामो कपाल छ भन्दै तान्दिन्थिन् अनि तिमी यहिको केटो खोजेर बिहे गरेर सधैको लागि यतै बस भनेर जिस्क्याउथिन् । हामी यतै धेरै मिलेर हिडेको देख्दा मान्छेहरु हामी दुइलाई लेस्बियन हो कि क्या हो भनेर पनि जिस्क्याउने गर्थे म चाही झन हो भन्दै ठिक्क पार्दै हासीदिन्थे । ल्याटिन अमेरिकातिर केटीकेटी धेरै मिलेर हिड्यो भने लेस्बियन भनेर संका गर्ने गर्छन् भने केटाकेटा धेरै मिलेर हिड्यो भने गे भनेर संका गर्ने गर्छन् । हाम्रो दिन यसै गरि रमाइलो गरि बित्ने गर्थ्यो । समय बितेको थाहै हुदैनथियो । विदेशमा भएर पनि म उसको साथ हुदा कहिले एक्लोपन हुदैन थियो । साच्चिकै छोटाे समयमै हामी एक मिल्ने साथी भएका थियौ । अहिले म बाध्यताले उ देखि धेरै टाढा छु तर उ सग बितेको पलहरु अझै पनि याद ताजा छ । उनी सधै मेरो मन मस्तिष्कमा हुने छिन् । म जहाँ भएपनि उनी सधै मेरी प्यारी विदेशी साथी हुनेछिन् ।