✍ रमेश कार्की 

सर्वप्रथम एसइइ परीक्षा सक्नु भएका सम्पूर्ण विद्यार्थी भाइबहिनीहरुलाई हार्दिक बधाई।

परीक्षा चलिरहँदा तपाईंहरू कुन बोझ बोकेर परीक्षा दिइरहनुभएको थियो भन्ने अनुभवको ढुकढुकी म छाम्न सक्छु। परीक्षा सकेपछि तपाईंहरू आफूलाई हावामा उडिरहेको बलुन झैँ हलुको र स्वतन्त्र महसुस गर्दै हुनुहुन्छ होला है ? खैर, यो पोस्टमा मैले तपाईंको लागि केही लेखेको छु। केहीबेर अल्छी नमानी पढिदिनूहुन्छ ? यी कुरा फलदायी भए तपाईंकै लागि राम्रो। फलदायी नभए म अहिले नै माफी माग्छु।

१. परीक्षा सकेपछिको केही समय परिवार वा साथीहरूसँग घुम्ने, आफन्तजनलाई भेट्ने र सम्भव भएसम्म नयाँ अनुभव बटुल्ने गर्नुहोस्। मलाई लाग्छ धेरैले यही गर्छन् तर पारिवारीक अवस्थाले सबैलाई त्यस्तो अवसर नदिन सक्छ। परिस्थितिले जसरी सम्भव बनाउँछ, त्यसरी नै रमाउन सिक्नुपर्छ।

२. परिवारले खर्च गर्न सक्नुहुन्छ भने नतिजा नआउन्जेल कम्प्यूटर, सेफ, मेकानिक्, सिलाइ बुनाइ आदिजस्ता सीप सिक्नुस्। सीप कहिल्यै खेर जाँदैन। वा यो समय छरछिमेकका भाइबहिनीलाई ट्यूसन पढाएर पनि फलदायी बनाउन सकिन्छ। विज्ञान वा नर्सिङ्जस्ता प्रतिस्पर्धात्मक विषय पढ्ने सोच्नु भएको छ भने त तयारी कक्षा लिनुपर्छ भन्ने यहाँलाई अवगत नै हुनपर्छ।

३. नतिजा आएपछि तपाईंको प्राप्ताङ्कको आधारमा तपाईंले पढ्नुपर्ने विषय वा पढिदिए हुन्थ्यो भनेर विषय सुझाउनेहरू धेरै हुन्छन्। उहाँहरू सबैको कुरा ससम्मान सुन्नुहोस् तर निर्णय आफैँ लिनुहोस्। आफ्ना अभिभावकको असफल सपना पूरा गर्ने जिम्मेवारी तपाईंले लिनुपर्छ भन्ने छैन। तपाईंको ए प्लस (A+) आउँदैमा तपाईंले विज्ञान सङ्काय नै लिनुपर्छ भन्ने पनि छैन। तपाईंले मानविकी पढ्नु अर्थ तपाईं कमजोर विद्यार्थी हो भन्ने हुँदै होइन । यो सङ्कुचित धारणबाट आफूलाई माथि राख्ने कोसिस गर्नुहोस्।

४. तपाईं कुनै विषयमा अब्बल हुनुहुन्छ र आफुलाई आफ्ना शिक्षकहरूले जस्तै पढाइरहेको कल्पना गर्नुहुन्छ वा भनौँ तपाईंलाई शिक्षण पेसा मन पर्छ भने शिक्षा सङ्काय लिएर पढ्नुहोस्। एउटा शिक्षकको कार्यक्षेत्र विद्यालय मात्र होइन, भोलि तपाईं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयको प्रोफेसर र विज्ञसमेत बन्न सक्नुहुन्छ। नाम र दाम दुवै कमाउन शिक्षा सङ्काय उत्कृष्ट विषय हो। तर तपाईंमा सिक्ने र सिकाउने भोक भने सधैँ हुनुपर्छ।

५. तपाईं सामाजिक विषयवस्तुमा रुची राख्नुहुन्छ, समाजका विद्यमान समस्या पहिचान गरी समाधानको लागि योगदान दिन चाहनुहुन्छ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्थामा आवद्ध रहेर काम गर्न चाहनु हुन्छ भने मानविकी सङ्काय अन्तरगत नेपाली वा अङ्ग्रेजी साहित्य सहित समाजशास्त्र र ग्रामीण विकासजस्ता विषय लिएर पढ्न सक्नुहुन्छ। यी विषयहरूको क्षेत्र निकै नै फराकिलो छ। मानविकी अन्तरगत गायन, नृत्य, अभिनय, आर्ट र चलचित्रजस्ता कलात्मक विषयहरू छन् जुन विषय पढ्न तपाईंलाई रमाइलो लाग्न सक्छ भने यसले तपाईंलाई लोकप्रिय पनि बनाउन सक्छ।

. तपाईं लेखा र अर्थशास्त्रजस्तो विषयमा रुची राख्नुहुन्छ, पढ्न पनि रमाइलो लाग्छ, अर्थ, हिसाव, व्यवसाय र बैँकीङ् क्षेत्रमा करियर बनाउन मन छ भने व्यवस्थापन सङ्काय तपाईंको लागि मिल्ने क्षेत्र हो । हरेक कम्पनि र संस्थामा लेखा शाखा अनिवार्य हुने भएकोले यो विषयको क्षेत्र पनि वृहत छ ।

७. तपाईं गणित र विज्ञानमा अब्बल हुनुहुन्छ, इन्जीनियरीङ, चिकित्सा, वातावरण, शहरी विकास र सूचना तथा प्रविधिजस्ता विषयमा रुची छ भने तपाईंले पढ्ने उपयूक्त विषय विज्ञान सङ्काय हुन सक्छ। तर यो क्षेत्रमा प्रतिस्पर्धा धेरै छ र छात्रावृति पाउन सकिएन भने अध्ययन महङ्गो हुन्छ भन्ने कुरा चाहिँ बुझ्नुपर्ने हुन्छ।

८. अहिले ११ बाट नै कानून विषय पढ्न पाइन्छ। तपाईं कानून र न्यायसम्बन्धी विषयमा रुची राख्नुहुन्छ भने यो विषय तपाईंको लागि राम्रो हुन सक्छ।कानुनको कार्यक्षेत्र अदालत मात्र नभई जुनसुकै संघसंस्था र कम्पनी पनि हुन सक्छ। कानुनी सल्लाहकारका रुपमा तपाईं त्यस्ता संस्थासँग जोडिन सक्नुहुन्छ।

९. पत्रकारीता एउटा अर्को महत्वपूर्ण र फराकिलो क्षेत्र भएको विषय हो। पत्रकारिता अध्ययन गर्नेले नेपाल केन्द्रित मात्र नभएर अन्तर्राष्ट्रिय मिडियासँग जोडिने सपना देखेर अघि बढ्ने हो भने अवसर प्रसस्त छन्।

१०. नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले विभिन्न विषयमा प्राविधिक शिक्षा प्रदान गर्दै आइरहेको छ। व्यवहारिक र सिपमूलक शिक्षा पाइने भएकाले यो क्षेत्र धेरै युवाको आकर्षणको केन्द्र बनेको छ।

११. औपचारिक बाहेक पनि अन्य पुस्तक पढ्ने, देश विदेशका समाचार हेर्ने, सुन्ने र आफुलाई प्रविधिमैत्री र समयानूकूल बनाइराख्ने बानीको विकास गर्नुहोस्। यसरी तपाईंले संसारलाई अझै राम्रोसँग बुझ्न र चिन्न सक्नुहुन्छ।

तपाईं माथि उल्लिखित क्षेत्रको कामदार मात्र बन्ने होइन त्यस्ता क्षेत्रको मालिक बन्ने र अन्य युवालाई रोजगारी सिर्जना गर्ने अठोट् बोकेर अगाडि बढ्न सक्नुहुन्छ। त्यसैले आफ्नो प्राप्ताङ्कलाई आफ्नो सपनाको बाधक बन्न नदिनुहोस्। यो जिन्दगी तपाईंको यात्रा हो र यो यात्रा तपाईं स्वयमले पार गर्नुपर्छ। तपाईंलाई उज्ज्वल भविष्यको हार्दिक शुभकामना।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय