
✍बलराम तिमल्सिना “विप्लव”
जून देखिन्छ,घाम देखिन्छ,
तारा देखिन्छन्,सारा देखिन्छन्
तर स्वर्ग किन देखिन्न ?
भन-नरक किन देखिन्न ?
भएको कुरा देखिनु पर्ने,
यस्तो छ भनी लेखिनु पर्ने
कता छ स्वर्ग,कता छ नरक
ब्रम्हाण्ड चाल्दा भेटिनु पर्ने
आकासगङ्गा हजारौं भेटिए
घामका नि घाम लाखौं भेटिए
तर स्वर्ग किन भेटिन्न ?
भन नरक किन भेटिन्न ?
स्वर्ग र नरक कस्ले पो देख्यो ?
देखेर हो कि नदेखेर लेख्यो ?
अरुले देख्न के चिजले छेक्यो ?
नमानी झर्को, स्वर नगरी चर्को
भन्देऊ न भन्देऊ
धर्माती मान्छे
साँच्चिकै स्वर्ग कहाँ छ ?
कुम्भिपाक नरक कहाँ छ ?
ईशाईको ह्याभेन
ईस्लामको जन्नत
हिन्दूको स्वर्ग
एउटै हुन् कि फरक हुन ?
जहन्नुम र हेल भन्ने कुरा
अलग्गै हुन् कि नरक हुन् ?
पास्टर पुजारी र मुल्लाहरू हो
सँगै बसेर सत सत भन
नढाँटी भन,नफाटी भन
कहाँ छ स्वर्ग र नरक भन ?