रमेश कार्की
चितवन । चितवनमा फुटबलको विकासको लागी अखिल नेपाल फुटबल संघ एन्फाले भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाललाई आग्रह गरेको छ । क्रिकेटको गतिविधि जस्तै फुटबलको माहोल बढाउन एन्फाले आग्रह गरेको हो । भरतपुर महानगरपालिकाले खेलकुद विकासमा खेलेको भूमिकाको प्रंशसा गर्दै एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरणराईले ललितपुर स्थित एन्फाको कन्फ्लेक्समा मेयर दाहालसंग भेट गरेका थिए । त्यसक्रममा भरतपुरमा महिला फुटबलको लिगको दोस्रो चरणको खेल भरतपुरमा संचालन गर्न समन्वयका लागी मेयर दाहालसंग आग्रह गरेका थिए ।
काठमाडौमा पहिलो चरण सकिएको लिग भरतपुरमा आयोजना गर्न मेयर दाहालसंग आग्रह गरिएको थियो । त्यसक्रममा मेयर दाहालले भरतपुर महानगर खेलकुदको हब भएकोले फुटबलको विकास महानगरको प्राथमिकतामा रहेको बताईन् । भरतपुर महानगरपालिकाको वडा नम्बर २० मा निर्माणाधिन अवस्थामा रहेको चित्रवन रंगशालालाई फुटबल केन्द्रीत गरेर प्राथमिकतामा राखेको जानकारी दिइन् । भेटको क्रममा चितवन जिल्ला फुटबल संघका अध्यक्ष श्रीकृष्ण कार्की पनि थिए । त्यसक्रममा मेयर दाहाललाई मायाकाृे चिनो स्वरुप नेपाली राष्ट्रिय टोलीको जर्सि प्रदान गरिएको थियो ।