काठमाण्डौ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूहरुको पार्टी सरकारमा सहभागी हुने बताएका छन् ।बिहीबार पत्रकार सम्मेलन गर्दै उनले यस्तो बताएका हुन् । “हामी सरकारमा जान्छौँ । पाँच दल भन्न हिजो गाह्रो थियो । पाँच दलीय गठबन्धन अझै अघि बढ्छ । हामी सरकारमा जान्छौँ । कम्युनिष्ट पार्टी छोड्दैनौँ,” उनले भने ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष नेपालले आफूलाई छाडेर जानेहरुले त्यसबेला नै नयाँ पार्टी दर्ता गराएको खुलासा गरेका छन् ।
उनले अहिले विभिन्न कारणले उनीहरु आफूहरुसँग आउन नसकेको बताए बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले बताएका हुन् ।
“हाम्रो साथ छाडेका साथीहरुले नयाँ पार्टी दर्ता त्यसबेला नै गरिसकेका थिए,” उनको भनाइ थियो,“ओलीले पार्टीलाई निजी कम्पनीमा ढालेपछि, जनताका एजेन्डालाई तिलान्जली दिएपछि त्यसका विरुद्धमा विद्रोह गर्नेबाहेक विकल्प भएन ।
इतिहासमा यस्तो धेरै भएको छ । समूहमा र पार्टीमा यस्ता विद्रोह भएका छन् । ठूलो पंक्तिले ओली समूहबाट विद्रोह गर्नुभएको छ । हामीले उतिबेलै पार्टी खोल्न सक्थ्यौँ । हामी जनताबाट निर्वाचित भएका कार्यकर्ताको सुरक्षाका बारेमा सोच्नुपर्ने हुन्थ्यो । संघीय संसदको हकमा सोच्नुपर्थ्यो ।”