
रमेश कार्की
चीन । १९औँ एसियाली खेलकुद २०२३ चीनको हाङझाउमा उद्घाटन भएको छ । हाङझाउमा ओलिम्पिक रंगशालामा शनिबार एक भव्य समारोहबीच चीनका रास्ट्रपति सि जिङ्पिङ्ग द्वारा प्रतियोगिताको उद्घाटन गरे । उद्घाटन समारोह करिब दुई घण्टासम्म चलेको थियो । उद्घाटनमा मार्च पासमा नेपालको झण्डा उसु खेलाडी निमा घर्ती मगर र तेक्वान्दो खेलाडी वीरबहादुर महराले बोकेका थिए । दुवै खेलाडीले सन् २०१९ मा नेपालमा भएको १३औँ साग खेदकुद प्रतियागितामा स्वर्ण पदक जितेका थिए ।
समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि सहभागी थिए । साथै परराष्ट्रमन्त्री एनपी साउद, युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव टंकलाल घिसिङलगायत उद्घाटन समारोहमा सहभागी थिए । प्रतियोगितामा नेपालबाट विभिन्न २९ खेलमा दुई सय ५३ खेलाडी सहभागी हुँदै छन् । जसमा महिला १२७ र पुरुष १२६ रहेका छन् । उद्घाटनमा ४५ देशका खेलाडी मार्च पासमा सहभागि भएका थिए । सो अवसरमा चीनका विभिन्न सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
एसियाली खेलकुदको इतिहासमा पहिलो पटक डिजिटल र भौतिक दुवै रुपमा टर्च प्रज्जलित गरिएको थियो । प्रतियोगिता विभिन्न ४५ देशका १२ हजार चारसयभन्दा बढी खेलाडी ४० खेलमा सहभागी हुँदै छन् । प्रतियोगिताको उद्घाटन शनिबार भए पनि फूटबल, क्रिकेट, भलिबल र टेबुलटेनिसका खेलहरु यसअघि नै सुरु भइसकेका छन् । नेपालले हालसम्म एसियाली खेलकुद प्रतियोगिताबाट तेक्वान्दो, बक्सिङ, कराँते र प्याराग्लाइडिङ खेलबाट दुई रजत र २२ कास्य पदक प्राप्त गरेको छ ।