काठमाडौँ — दुई प्रशिक्षकको भनाइ नै पर्याप्त छ, विश्वकप छनोटअन्तर्गत एसियाली दोस्रो चरणको खेलमा नेपालले मंगलबार यमनको आतिथ्यता गर्दाको खेल कस्तो रह्यो भनेर सार बुझ्न । यमनी टिमका अनुभवी प्रशिक्षक हुन्, चेक गणतन्त्रका मिलोस्लाभ सुकुप ।

उनी भन्थे, ‘हामी असाध्यै खुसी छौं । नेपाल सजिलो प्रतिद्वन्द्वी थिएन । तर हामी जितसँगै घर फर्कदै छौं । हामी नेपाललाई धन्यवाद दिन चाहन्छौं अनि नेपाली दर्शकप्रति आभार प्रकट गर्न चाहन्छौं ।’ त्यहीं नेपाली टोलीका प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले भने, ‘हाम्रो प्रदर्शन रहेन । हामी लगभग सबै पक्षमा चुक्यौं । यो हारको जिम्मेवारी म लिन चाहन्छु र नेपाली फुटबल समर्थकमाझ माफी माग्न चाहन्छु । खेलका क्रममा हाम्रा खेलाडीको प्रदर्शन कमजोर रह्यो, विशेषत शारीरिक पक्षमा हामी असाध्यै पछाडि रह्यौं । अहिलेको आधुनिक फुटबल फेरिएको छ । यो प्राविधिक खेलमात्र होइन, शारीरिक रूपमा बलिया र ९० मिनेट खटेर खेल्ने खेलाडी चाहिन्छ ।’

इटालीका यी प्रशिक्षकले नेपाली टिम सम्हालेयता विश्वकप छनोटको यो खेल १२ औं रह्यो । उनी आएयता दशरथ रंगशालामा भएको यो खेलमा नेपालको सम्भवतः सबैभन्दा खराब प्रदर्शन रह्यो । नेपाल कसरी हार्‍यो त ? यसका लागि उनले अनेक कारण भने । खेलाडी शारीरिक रूपमा अरूको तुलनामा पछाडि रहेको मात्र भनेनन्, विश्वकप छनोटजस्तो प्रतियोगिताका लागि तयारी नै कमजोर रहेको सुनाए । अनि नेपालको लिग फुटबल नै कमजोर भएको पनि दोहोर्‍याराए ।

उनले थपे, ‘तर म यो हारमा बहानामात्र बनाउने पक्षमा छैन । मैले नेपाली टिमबाट जस्तो प्रदर्शन अपेक्षा गरेको थिएँ, त्यो हुँदै भएन ।’ घरेलु मैदानमा यमनविरुद्ध नेपाली फुटबल टिमबाट धेरै आस गरिएको थियो, तर मैदानमा त्यस्तो केही देखिएन । त्यसको ठीक विपरीत यमनको प्रदर्शन व्यावसायिक त रह्यो नै । जितका लागि टोली पूर्ण हकदार थियो । फेरि यमनले गरेका दुवै गोल उत्कृष्ट रह्यो । विशेषतः ओमार अब्दुल्लाहले गरेको पहिलो गोल ।

पहिलो हाफको गोलरहित बराबरीपछि उनी सब्स्टिच्युटको रूपमा मैदानमा छिरेका थिए । यसक्रममा उनले ७३ औं मिनेटमा गोल गरे । बहराइनको लिग खेल्ने ओमार भर्खरै चोटमुक्त हुँदै मैदान फर्केका हुन् । उनले नेपालका तीन डिफेन्डर बिट गर्दै अगाडि बढाएको बलमा शक्तिशाली प्रहारबाट गोलको खाता खोले । यमनका लागि दोस्रो गोल मोहम्मद अब्दुल्लाहले ९० औं मिनेटमा गरे । यो पनि आफैंमा चलाखीपूर्ण गोल रह्यो ।

उनले आफ्नो अगाडि नेपाली गोलरक्षक किरण लिम्बू मात्र हुँदा बललाई हल्का उचाइ दिए र बलले पोस्टको दिशा लियो । पूरा खेल अवधिमा जहाँ यमनले अन्य अवसरमा पनि केही राम्रो गरेको थियो, त्यहीं नेपालले पूरा खेल अवधिमा एउटै मात्र राम्रो आक्रमण बुन्न सक्यो । हिसुब थपलियाले ६१ औं मिनेटमा यमनी गोलरक्षक अब्दुल्लाह अब्दुल एक्लै हुँदा वान भर्सेस वानमा गोल गर्न सकेनन् । सम्भवतः त्यो गोल भएको भए पूरा खेलको कथा बेग्लै हुन्थ्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय