प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मुलुकको विकास कार्यमा समर्पित हुने दृढता देखाए पनि उपलब्धि नगन्य देखिन थालेपछि जनता निराश छन् । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा ‘मैले गरेको विकास देखेर विपक्षी, विरोधी आत्तिएको’ भनी दिएको अभिव्यक्ति प्रचण्डले पनि दोहोर्‍याउन थालेका छन् ।

उनी कसैले गरेको टीकाटिप्पणीलाई आत्मसात गर्न नसकी आक्रोशित हुन थालेका छन्, जसलाई लोकतान्त्रिक व्यवस्थामा युक्तिसंगत मानिँदैन । मुलुकको कार्यकारी प्रमुखजस्तो जिम्मेवार व्यक्ति सदैव लचिलो बन्न सक्नुपर्छ, प्रशंसा, गाली सबै कुरालाई आत्मसात गरेर अघि बढ्न जान्नुपर्छ । प्रधानमन्त्रीले थालनी गरेका कतिपय राम्रा कामलाई साथ नदिने को छ र ?

प्रचण्डले झापा पुगेर गिरिबन्धु टी–स्टेटमा भएको धाँधली उजागर गरेर दोषीलाई कठघरामा पुर्‍याउनेदेखि काण्डै काण्डले भरिएका पुराना फाइलहरू खेलेर अपराधीलाई कठोर कारबाही गर्नेसम्मका कुरा गरेर जनतालाई भुलभुलैयामा पार्नुलाई युक्तिसंगत मानिएको छैन । केन्द्रले दिशानिर्देश नगर्दा, लगाम लगाउन नसक्दा ६ वर्षयता पालिकामा मनोमानी बढेको, आ–आफ्नै ढंगले शासन चलाएको सन्दर्भबाट ग्रामीण अर्थतन्त्र थला परिरहेको छ ।

संघीय शासन पद्धति लागू भएपछि, सर्वत्र कर आतंक फैलिएको, आत्तिएर व्यवसायी पलायन हुन थालेको, म्यानपावर कम्पनीको सेटिङबाट ग्रामीण क्षेत्रका युवालाई ललाइफकाई विदेश धकेल्ने अभियान उचाइमा पुग्दा स्थानीय सरकारले केही गर्न नसकेको, विद्यार्थीको विदेश पलायन उचाइमा पुगेकोलगायत बेथिति भर्त्सनायोग्य छन् ।

कृषिप्रधान देश नाममा मात्र सीमित हुनु, मुलुकका अधिकांश कृषियोग्य भूमि बन्जर बन्दै जानु, सत्ताधारी, जिम्मेवार नेता, योजनाकार केन्द्रमा वसेर विकासको आ–आफ्नै डम्फू बजाएर नथाक्नुलाई बेथितिको कुरूप सन्दर्भ नभनिरहन सकिँदैन । यावत् विसंगति अब प्रधानमन्त्रीले केलाएर सबैतिर विकासको नयाँ जग खडा गर्न सक्नुपर्छ ।

मुलुकको कारकारी प्रमुखले गन्जागोलको स्थिति न्यून पार्न प्रत्येक सेकेन्डलाई महत्त्व दिनुपर्छ । प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोगको अगुवाइमा प्रत्येक पालिका र तिनका वडाको विकास गतिविधिको हप्तैपिच्छे लेखाजोखा गर्ने, कमी कमजोरी हटाई समृद्धिको लहर गाउँगाउँसम्म पुर्‍याउने काममा ढिलाइ गर्नुहुँदैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय