रमेश कार्की
काठमाडौं । संसदमा छलफल गर्नुपर्ने गम्भीर विषयमा बदनियतका साथ सरकारले अध्यादेश ल्याएको अधिवक्ता ओमप्रकाश अर्यालले बताएका छन् । संसद् छलेर ल्याइएको अध्यादेश सर्वोच्चको समेत फैसला विपरीत रहेको उनको भनाइ छ । जग्गा राष्ट्रिय सम्पत्ति भएकाले त्यससम्बन्धी विषय संसद् छलेर चोर बाटोबाट ल्याउनु गलत भएको उनी बताउँछन् ।
सरकारले भूमिसम्बन्धी अध्यादेश ल्याउँदै भूमिहीनलाई उनीहरू बसोबास गर्दै आएको जग्गा दिने तयारी गरेको छ । भूमिसम्बन्धी अध्यादेशमा घरजग्गा व्यवसायीले हदबन्दीभन्दा धेरै जग्गा पनि बिक्री गर्न पाउने प्रावधान पनि राखिएको छ ।
अध्यादेशका विषयमा प्रधानमन्त्री मात्र नभई कांग्रेसका नेताहरूसँग समेत प्रश्न गर्नुपर्ने अधिवक्ता अर्यालको भनाइ छ । उनी भन्छन्, ‘यो विषयमा केपी ओलीसँग मात्र होइन, गगन थापाहरूसँग पनि अब प्रश्न गर्ने वेला आएको छ । हिजोका दिनहरूमा त यस्तै–यस्तै कुरालाई मसला बनाएर उहाँहरू प्रश्न गर्नुहुन्थ्यो, आजको दिनमा तिनै काम उहाँहरूले सामूहिक रूपमा गर्नुभएको छ । उहाँहरूले राजनीति केका लागि गनुभएको हो भन्ने प्रस्ट भयो ।