
रमेश कार्की
चितवन । नवनियुक्त जिल्ला खेलकुद समितिका अध्यक्ष राजन कार्कीको पहलमा पुष्पान्जली हस्पिटलका प्रबन्ध निर्देशक श्री सुजनराज अधिकारी र डा. भोजराज अधिकारी सँग खेलाडीहरू र उनका अभिभावक हरूको उपचारको बिशेष छुटको लागि मिति ७ चैत्र २०८१ मा सम्झौता भएको छ । बालमन्दिर रोडमा रहेको पुष्पान्जली हस्पिटल ले खेलकुदमा आबद्ध सम्पूर्ण खेलकर्मी, प्रशिक्षक, निर्णायक र खेलाडीहरूलाई २५ % र उनका आमाबुवाहरूलाई १२.५ % छुट दिने भएको छ ।
यसैगरी अस्पतालको सेवा जस्तैः बेडचार्ज, ल्याब टेस्ट (यहा हुने), ई.सी.जी, इको, भिडिओ एक्सरे, एक्सरे, लगायतमा २०%, अप्रेशन, सिटीस्क्यान र क्याबीनमा १०% छूट दिइने छ । औषधीमा ७% प्रतिशत सम्म छूट दिइनेछ । छुट सेवा लिन आउदा जी.खे.बि.स.को परिचय पत्र अथवा अन्य आधिकारीक पत्र अनिवार्य लिई आउनुपर्ने पनि जानकारी गराएका छन् ।
हस्पिटलका सञ्चालक डाक्टर भोजराज अधिकारीका भनाइ अनुसार “स्वास्थ्यसँग खेलाडी”भन्ने एक महिने अभियान चलाएर खेलाडीहरूको निःशुल्क ओपिडी सहित स्वास्थ्य परीक्षण गराउने र कतिपय बखत खेलाडीहरूको स्वास्थ्य ठिक छ छैन भन्ने कुरा स्वयं उनिहरुलाई पनि थाहा नहुने भएकोले परीक्षण आवश्यक रहेको र अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको दैनिक जसो स्वास्थ्य परीक्षण हुने गर्छ तर हाम्रो खेलाडीहरुको नहुने भएको कारणले यो अति आवश्यक छ र यसलाई म एक महिने अभियान चलाएर सम्पूर्ण खेलाडीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछु भन्ने प्रतिबद्धता पनि जनाएका छन् र जिल्लाका सम्पूर्ण खेलाडीहरूलाई स्वास्थ्य शिविर कार्यक्रम निःशुल्क गराइने पनि जानकारी गराएका छन् ।
उनिहरुको उपचारको दौरानमा आर्थिक अवस्थाका नाजुक खेलाडीहरूले हस्पिटलमा डिस्चार्ज कुर्न नपर्ने पनि सम्झौताको दौरान मौखिक प्रतिबद्धता डाक्टर भोजराजले दिएका छन् ।