मम्मी, तपाईंले चितवनका लागि आफ्नो सम्पूर्ण शक्ति र समय समर्पित गर्नुभयो। यसपटक नतिजा हाम्रो पक्षमा नआए पनि इतिहासले भरतपुर महानगरपालिकाको मेयरको रूपमा तपाईंले दिएको ९ वर्षमा शहरलाई कसरी सुन्दर, व्यवस्थित, समृद्ध र सुसंस्कृत बनाऊन दिशानिर्देश गर्नुभयो भन्ने कुरा सधैं सम्झिरहनेछ। एक दशकभन्दा कम समयमा तपाईंले पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षाका र खेलकुद सहित दिगो विकास लक्ष्यलाई आत्मसात गरी गति र परिवर्तन ल्याउनुभयो, जुन प्रायः दशकौँ लागेर मात्रै सम्भव हुन्छ। तपाईंको दूरदृष्टि, दृढता र अथक समर्पणले भरतपुरलाई त्यस्तो दिशामा अघि बढायो, जुन कहिल्यै सम्भव हुँदैन भन्ने धेरैको विश्वास थियो।

धेरैले तपाईंलाई एक नेताको रूपमा चिन्छन्, तर हामीले त्यो नेतृत्व पछाडिको दैनिक निरन्तर चिन्ता, चिन्तन र परिश्रम गरेको नजिकबाट देख्यौं। तपाईंको बिहान चाँडै सुरु हुन्थ्यो, प्रायः घरमै मानिसहरू आफ्नो समस्या लिएर पर्खिरहेका हुन्थे। दिनभरि तपाईं जनताको कुरा सुन्ने, समाधान खोज्ने र कामलाई अगाडि बढाउने काममा व्यस्त रहनुहुन्थ्यो। रात ढिलो सकिन्थ्यो, र भोलिपल्ट फेरि त्यही क्रम दोहोरिन्थ्यो। तपाईंका ढोका सधैं खुला रहन्थे, र तपाईंले प्रायः कहिल्यै विश्राम लिनु भएन।

साँचो भन्नुपर्दा, म र मेरो भाईले कहिलेकाहीँ तपाईंको संग अझ धेरै समय बिताउन पाएको भए कति राम्रो हुन्थ्यो भन्ने महसुस गर्थ्यौं। सामान्य दिनहरूमा मात्र होइन, धेरै विशेष क्षणहरूमा पनि हामीले तपाईंलाई मिस गर्यौं तर तपाईंले सधैं नगरवासी र कामलाई पहिलो प्राथमिकतामा राख्नुभयो। तपाईं भरतपुरप्रति कति समर्पित हुनुहुन्थ्यो भन्ने बुझेर हामीले पनि त्यो त्याग स्वीकार गर्यौं। हामी कतै यात्रा गर्दा पनि तपाईंको मन भरतपुरबाट कहिल्यै टाढा हुन्थेन। यात्राका क्रममा तपाईंले बाटो, फ्लाइओभर, तटबन्धन, बसपार्क, हरियाली वा शहरका बत्तीहरू देख्नुहुन्थ्यो र भन्नुहुन्थ्यो — “यो त भरतपुरमा पनि गर्न सकिन्छ।” प्रेरणाका लागि तस्बिरहरू खिच्नुहुन्थ्यो र ती योजना र कार्यक्रमहरू कसरी भरतपुरमा ल्याउन सकिन्छ भनेर सोच्नुहुन्थ्यो। यही कुराले तपाईंको भरतपुरप्रतिको माया र जिम्मेवारी कति गहिरो थियो भन्ने देखाउँछ।

तपाईंसँग भरतपुर घुम्नु भनेको निरन्तर फोन कलहरू सुन्नुजस्तै हुन्थ्यो । कतै खाल्डाखुल्डी भएको सडक, कतै बिग्रिएको सडकबत्ती, अधुरा निर्माणकार्य, वा कतै राम्ररी हेरचाह नगरिएका फूलबारीका बारेमा। तपाईंको विश्वास थियो कि सानोभन्दा सानो कुरा पनि महत्वपूर्ण हुन्छ, किनकि यो शहर महत्वपूर्ण छ। कुनै समय जिम्मेवार निकायहरूको ढिलाइको दोष पनि प्रायः तपाईंमाथि आइपर्थ्यो तर पनि तपाईंले हरेक समस्या  सानो होस् वा ठूला आफ्नो जिम्मेवारीका रूपमा लिनुभयो। यही कारणले तपाईंको नेतृत्व फरक र विशेष बनायो। हामीमध्ये जसले यो समर्पण नजिकबाट देख्यौं, उनीहरूलाई थाहा छ कि तपाईंले चितवनका जनताका लागि कति ठूलो त्याग गर्नुभयो। त्यसैले यो नतिजाले मलाई मात्र होइन, तपाईंको क्षमतामा विश्वास गर्ने धेरैलाई गहिरो पीडा दिएको छ। नतिजा सार्वजनिक भएपछि धेरैका आँखामा आँसु देखिनु पनि त्यसैको प्रमाण थियो। तर हामी जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्छौं । यही नै लोकतन्त्रको सार हो।

भरतपुरमा तपाईंको काममा विश्वास गर्ने र साथ दिने सबैप्रति हार्दिक धन्यवाद। चुनावमा सहभागी भई आफ्नो मत व्यक्त गर्ने सम्पूर्ण मतदाताप्रति पनि आभार। मम्मी, एउटा कुरा सधैं स्पष्ट रहनेछ, तपाईंले आफ्नो सम्पूर्ण शक्ति र मनबाट सेवा गर्नुभयो। आजको नतिजा जे भए पनि, पछिल्ला ९ वर्षमा भरतपुरले देखेको परिवर्तन सधैं इतिहासको हिस्सा बनेर रहनेछ।

अन्त्यमा, निर्वाचित हुनुहुने सम्पूर्ण उम्मेदवारहरूलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। हाम्रों साझा उद्देश्य सधैं एउटै रहोस्, अझ समृद्ध, सुशासनयुक्त, शान्तिपूर्ण र समृद्ध नेपाल निर्माण गर्ने। 🙏🏻

सधैं भरी माया,
छोरी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय