प्रिया राना
काठमाडौं । एक महिना अघि नेपाली मजदुर एकता समाजमा एउटा असाध्यै दुख लाग्दो घटना र त्यसको उद्धारको लागि एक लिखित निवेदन मलेसिया समितिका सदस्य तथा समाजसेवी जीवन नेगि मार्फत आइपुग्यो । १३ महिना देखि कुवेतमा बन्धक बनाइएकी एक नेपाली महिलाको उद्धारको लागि सहयोग मागिएको उक्त निवेदनमा यो पनि उल्लेख थियो । समाजसेवी जीवन नेगिले एक बर्ष देखि सबै ठाँउमा पीडितको उद्धारको लागि ढोका घचच्याएका थिए । तर पनि उनको उद्धार हुन सकेको थिएन ।
पीडित महिला तिन बर्ष अगाडी वैदेशिक रोजगारिको सिलसिलामा घरेलु कामदारको रुपमा कुवेत पुगेकी हुन् । स्थायी ठेगाना बर्दिया जिल्ला, बाँसगढी नगरपालिका, वडा नम्बर ३ घर भएकी देविसरा बिक १३ महिना देखि कुवेतको जहरा घर नम्बर १११, ब्लक नम्बर ८, इसार ११३ मा शारीरिक, मानसिक तथा भौतिक यातना सहित बिना सेलरी बन्धक बनाएर राखिएकी थिइन् । आफ्नै आफन्त मार्फत घरेलु काम गर्न कुवेत पुगेकी उनि त्यहाँ पुगेपछि उनले दिनहुँ जसो मानसिक तथा शारीरिक तनाव खेप्नु पर्यो । अति भएपछि आफू पटक पटक घर जान्छु भन्दापनि घर साहुसाहुनिले स्वदेश फर्किन दिएनन् । बरु उल्टो फेरि एजेन्ट सँग ७०० पैसा तिरेर ३ सालको लागि किनेको भन्दै झन भौतिक यातना दिए । हरेक दिन यातना सहदा सहदै अति भएपछि आफू धेरै पीडित भएको र आफ्नो उद्धार गरिदिन आफ्नै छोरी यमकला बिक र आफन्तलाई जानकारी गराइन् । त्यसपछि देविसरा बिकलाई उद्धार गरि पाउ भनी एक बर्ष देखि उनको उद्धारको लागि सबैतिरबाट आवाज उठाउदा पनि उनको उद्धार हुन सकेको थिएन ।
कुबेतमा रहेका सरोकारवाला निकाय, राजदुतावास, समाजसेवी, नेपालमा रहेका पुर्ब श्रम मन्त्री, सञ्चारकर्मी लगायत मलेसियामा रहेको नेपाली मजदुर एकता समाज संस्थामा पनि लिखित निवेदन दिइएको भए पनि मजदुर एकता समाजले निवेदन पाए लगत्तै समाजका तर्फबाट केन्द्रिय महासचिव समर्पण भट्टराई कुवेत स्थिति नेपाली राजदुतावास लाई औपचारिक जानकारी गराएका थिए भने समाजका केन्द्रिय अध्यक्ष तेज बहादुर कार्कीले पीडितको तर्फबाट वैदेशिक बिभागमा प्रत्यक्ष आफू नै गएर उद्धारको लागि पहल गरिदिन भनी लिखित निवेदन दिएका थिए । नेपाली मजदुर एकता समाजले पहल गरेको एक महिनामै अहिले कुवेत स्थित नेपाली राजदुतावासको सक्रियतामा निज पीडित देविसरा बिकको केही दिन अघि उद्धार भएको छ । कुवेतको नेपाली राजदुतावासले त्यस नर्कबाट उनलाई उद्धार गरेको एक हप्ता पछि सबै प्रक्रिया मिलाएर उनलाई सकुशल नेपाल पठाएको हो ।
पीडित देविसरा बिक नेपाल त फर्किएकी छिन् तर विडम्बना रित्तै हात । १३ महिनाको तलब पनि नपाएको र आउदा रित्तै फर्किनु परेको गुनासो बिकले गरेकी छिन् । रित्तै फर्किन परे पछि बिकले आफुले काम गरेबापतको १३ महिनाको तलब पाउनको लागि नेपाल मजदुर एकता समाजको सहयोगमा अहिले वैदेशिक रोजगार बिभागमा गएर मुद्दा दर्ता गरेको मजदुर एकता समाजका अध्यक्ष तेज बहादुर कार्कीले जानकारी दिए । पीडित देविसरा सकुशल नेपाल पुगे पनि बिदेशमा पाएको पिडाले उनको मन पोलिरहेको छ । बिदेशमा लामो समय देेेखि पाएको पिडाले उनी थोरै अस्वस्थ पनि छिन् । स्वदेश फर्किन पाउदिन होला भनेेर आस समेत मारेर आसुमा डुबेर बसेकी उनी अहिले लामो समय पछि नै भए पनि नेपाल फर्किन पाउदा खुसी लागेको बताइन् र थोरै खुसीको अनुभव गरेकी छिन् । उनलाई स्वदेश फिर्ता गर्न पहल गरेकोमा नेपाली मजदुर एकता समाज, राजदुतावास, वैदेशिक रोजगार बिभाग, विभिन्न संघ सस्था, संचारकर्मी सबैलाई उनले धन्यवाद समेत व्यक्त गरेकी छिन् । यसरी बिदेशमा दुख पाएर पिडामा बस्नेहरु धेरै भएकोले उनीहरुको पनि सबैले मिलेर उद्धार र सहयोग गर्न अति आवश्यक रहेको पनि उनले बताएकी छिन् । साथै यसरी घरेलु काममा सकेसम्म कोहि पनि नजान र जाने भए सम्पुर्ण प्रक्रिया पुर्याएर मात्र जान अनुरोध पनि गरेकी छिन् ।
यस्ता नेपाली दिदीबहिनीहरु बिदेशमा हजारौको संख्यामा छन् । विशेषगरि भारतको अबैधानिक बाटो हुँदै कुवेत, युएई, इराक, साउदी, कुर्स्तिस्तान, ओमन र जाेर्डन जस्ता खाडी मुलुकमा बेचिने गरेका छन् । यो बारेमा राज्यका सरोकारवाला निकाय कमजोर र कमिसनको खेल अनि दलालहरुलाई काखी च्याप्ने र प्रवासमा खोलिएका केही संघ संस्थाहरु पनि औपचारिकतामा मात्र सिमित हुदाको र केहिको मिलेमतो र लापरबाहीको कारण नेपाली चेलीबेटीहरुको भबिस्यमाथी खेलवाड मात्रै होइन बेचबिखन समेत भइरहेको छ, यसमा हरेक नेपाली नागरिकले सचेत हुँदै राज्यको सरोकारवाला निकाय र संघ संस्थाहरुको ध्यानाकर्षण हुनु अति जरुरी रहेको समाजसेवी जीवन नेगि बताउँछन् । सुरु देखी नै पीडित देविसरा बिकको उद्धारको लागि आवाज उठाउने जीवन नेगिकै सहयोगमा बिकलाई मलेसिया देखि केही रकम पनि पठाइएको छ । त्यस्तै काठमाडौंमा खान बस्नको लागि समाजसेवी सिम्रन रिजालले व्यवस्था गरेकी थिइन् भने मजदुर एकता समाजका अध्यक्ष द्वारा पीडितलाई औषधि उपचार र घरसम्म पुग्नको लागि टिकट सहयोग गरेका थिए । अहिले देविसरा बिक आफ्नो घर परिवार सम्म सकुशल पुगिसकेकी छिन् ।