समर्पण भट्टराई

हाम्रो सामाजिक परम्परा अनुसार विवाहले दुई व्यक्ति अर्थात महिला र पुरुषबीच कानुनी रुपमा सम्बन्धको निर्माण गरिदै आएको छ । यद्यपि हरेक देश अनुसार त्यहाँको कानुन फरक फरक हुने गर्छन् र सोही कानुन बमोजिम बिबाह पश्चात महिला र पुरुषलाई कानुनी दायित्वको समेत बोध गराउँछ। उक्त श्रीमान् श्रीमतीले विवाहको कानुनी सम्बन्धको अन्त्य जब गर्दछन्  यसलाई नै सम्बन्धविच्छेद अर्थात डिभोर्स भनिन्छ । विवाहित दम्पतीको लागि सम्बन्धविच्छेद निकै जटिल समस्या हो। सँगै जिउने र सँगै मर्ने कसम खाएका श्रीमान्‌ श्रीमती आखिर किन सम्बन्धविच्छेद अथवा सम्बन्धको अन्त्य गर्न चाहन्छन् त? यसका पछाडी केही मनोवैज्ञानिक सहित निम्न कारणहरु पनि हुन सक्छन्।

भावना आदान प्रदानमा समस्या – श्रीमान् श्रीमती एक रथका दुइ पाँग्रा हुन भन्ने प्रचलन रहेको छ, यदि एउटा रथ उत्तर जान खोज्यो अनि अर्को रथ दक्षिण जान खोज्यो भने स्वाभाविकै रुपमा त्यहा एउटा भीषण अन्तरदन्द्दको सुरुवात हुन्छ अनि रथ बिच बाटोमै रोकिन पुग्छ। यसरी श्रीमान श्रीमती बिचमा हुनुपर्ने घनिष्ठ र भावनात्मक सम्बन्ध एकाएक दुश्मनीमा बदलिन पुग्छ यस्तै गरेर श्रीमान श्रीमतीमा पनि राम्रोसँग भावना साटासाट हुन सकेन एक अर्कोका चाहना आवश्यकता बुझ्न नसक्नु अनि एकले अर्कोलाई आफ्नो मनको कुरा खोलेर राख्न सकेन वा पाएन, एक अर्काको चाहानालाई राम्रोसँग जान्न अनि बुझ्न नसक्नु पनि सम्बन्धमा दरार पैदा हुन सक्छ र जसले गर्दा गम्भीर असझमदारी पैदा हुन पुग्दछ।

निरंतरताको द्वन्द्व – श्रीमान् श्रीमतीको बीचमा हुने असमझदारीलाई हाम्रो तिर बुढाबुढिको झगडा परालको आगो भन्ने गरिन्छ अथवा सामान्यतया झगडा हुनुलाई ठूलो कुरा मान्ने चलन छैन यसरी बेलाबेलामा हुने द्वन्द्वलाई समयमा नै सुल्झाइएन या तत्कालै यस्ता समस्याको हल गर्न सकिएन भने त्यो परालको आगोले घरलाई नै जलाउन पुग्छ र निष्कर्षको कुरा सम्बन्धविच्छेदसम्म पुग्ने गर्छ। अहिलेसम्मका सम्बन्धविच्छेदका घटनाहरुलाई नियाल्दा यो स्पष्ट देखिन्छ। विश्वासघात : विवाहित दम्पती बिचमा दुई मध्य श्रीमान् अथवा श्रीमतीले विश्वास तोड्नु हो । मानौ श्रीमान् वा श्रीमती बाहीरी सम्बन्धमा रहनु, परपुरुष वा महिलासँग शारीरिक सम्बन्ध राख्नु फोनमा पनि अनावश्यक अरु संग कुराकानिमा व्यस्त हुनु जस्ता कुराहरु विश्वासघातभित्र पर्दछन् यो बाहिरी सम्बन्ध अझ ठूलो कारण हुने गर्छ सम्बन्धविच्छेद हुनुमा ।

असहजता – श्रीमान् र श्रीमती जीवनभर सँगै बस्ने भनेर विभिन्न किसिमको कसमसमेत खाने गरेको पाइन्छन् अहिले त मागेर भन्दा पनि माया प्रेममा रहेर प्रेम विवाह गर्ने चलन सबैभन्दा धेरै छ। अनि प्रेम सम्बन्धमा रहदा भएका सम्झौता गरिएका वाचाहरु जब दिन, रात, महिना र बर्ष नै सँगै बस्न थाल्दा उनीहरु एक अर्काप्रति असहज महसुस गर्न थाल्दछन् किनभने उनीहरुको भावनामा मेल खान छोड्छ, रहनसहन पनि सोचे अनुसारको नहुन सक्छ। अर्कोतर्फ अपरिपक्व उमेरमा गरिएका विवाहहरु उमेर अनुसार परिपक्वता बन्दै जादा धेरै कुराहरूमा मन नमिल्ने उद्देश्य र अनि शारीरिक आवश्यकता भावनात्मक चाहाना पनि फरक पर्न थाल्नु पनि सम्बन्धविच्छेदको अर्को कारण बन्न पुग्छ।

मनोवैज्ञानिक कारण – अहिले विश्वव्यापी रूपमा नै मानिसहरु सम्बन्धविच्छेद र डिप्रेशनका घटनाहरु बढ्दो रूपमा छ जस्तै मनोविकार, चिन्ता, तनाव जस्ता कारणले विवाहित जिवनमा समस्या पैदा गर्न सक्छन् जसले गर्दा दैनिक जिवनमा श्रीमान र श्रीमतीको बीचमा सधै झगडा उत्पन्न हुन सक्छ र अन्तत सम्बन्धविच्छेदसम्म पुग्न सक्छ।

आत्मीयताको अभाव – एक अर्कामा भावनात्मक र शारीरिक आत्मीयता सफल बिबाहमा हुनुपर्ने मुख्य कारण मध्य एक महत्त्वपूर्ण कारण हो। जतिबेला बिबाह एक कागजी डकुमेन्टमा मात्र सीमित हुनपुग्छ तब यसको परिणामस्वरूप सम्बन्ध बिच्छेदको मोड लिने गर्दछ। श्रीमान र श्रीमतीको सम्बन्धमा फाटो वा असमझदारी पैदा हुने मुख्य कारणमा आत्मीयतामा कमी हुने कुरा धेरैजसो अनुसन्धानहरुले उजागर गरेको छ। अर्कोतर्फ आत्मीयताको कमि सङै सारिरिक सम्बन्धमा समेत वितृष्णा पैदा हुने गर्छ र आत्मीयतामा कमी हुँदा व्यक्तिहरुले एक्लोपन महसुस गर्दछन् र यसले डिप्रेसनमा पुर्याउने खतरा आत्महत्या सम्म पनि पुग्ने गर्दछन्।

दम्पतीहरुका प्राथमिकता र जीवनशैलीमा परिवर्तन हुनु – अनि समयसँगै व्यक्तिको इच्छा आकांक्षाहरु पनि स्वाभाविक रूपमा परिवर्तन हुँदै जाने हुदापनी श्रीमान श्रीमतीको जीवन शैली, सोच्ने तरिका र अन्य कुरामा परिवर्तन हुँदै जादा पनि अन्तत सम्बन्धविच्छेदसम्म कुरा पुग्दछन्।

माथी उल्लेखित कुराहरू अब थोरै कानुनी प्रावधान बारेमा पनि छोटो चर्चा गर्न आवश्यक ठान्दछु। नेपालको मुलुकी संहिता २०७४ अनुसार सम्बन्ध बिच्छेदको कानुनी प्रावधान निम्नानुसार रहेको छ।

नेपालको मुलुकी देवानी संहिता २०७४ को धारा ९३ अनुसार पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्नेछन्। दुवैको सहमति नभएमा धारा ९४ अनुसार पतिले सम्बन्धविच्छेद गर्न सक्ने निम्नानुसारको प्रावधान रहेको छ।

(क) कानुन बमोजिम अंश लिई वा मानो छुटिई पति पत्नी भिन्न बसेको अवस्थामा बाहेक पत्नीले पतिको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अगल बसेमा।

(ख) पत्नीले पतिलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा।

(ग) पत्नीले पतिलाई ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमका कुनै काम वा जाल प्रपञ्च गरेमा।

(घ) पत्नीले अन्य पुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा।

पति र पत्नीबीच हुने सम्बन्ध विच्छेद रहर भन्दा पनि बाध्यता नै हो जब पति र पत्नी सँगै बस्नुभन्दा पनि छुटिँदा जीवन सरल र सहज हुन्छ भने विवाहलाई अन्त्य गर्ने अवस्थामा पुग्दछन्। मुलुकी देवानी संहिताको धारा ९५ अनुसार पत्नीले देहायको अवस्थामा सम्बन्धविच्छेद गर्न सक्ने प्रावधान रहेको छ।

क) कानुन बमोजिम अंश लिई वा मानो छुटिई पतिपत्नी भिन्न बसेको अवस्थामा बाहेक पतिले पत्नीको मञ्जुरी नलिई लगातार तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा।

(ख) पतिले पत्नीलाई खान लगाउन नदिएमा वा घरबाट निकाला गरिदिएमा।

(ग) पत्नीलाई ठूलो शारीरिक वा मानसिक कष्ट हुने किसिमका कुनै काम वा जाल प्रपञ्च गरेमा।

(घ) पतिले अर्को विवाह गरेमा।

(ड) पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा।

(च) पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा।

उक्त संहिताको धारा ९६ अनुसार सम्बन्धविच्छेद गर्न चाहने पति वा पत्नीले सम्बन्धित जिल्ला अदालतमा निवेदन दिनु पर्नेछ । धारा ९७ अनुसार जिल्ला अदालतमा निवेदन परेमा अदालतले दुवै पक्षलाई भरसक सम्झाईबुझाई मेलमिलाप गराउनुपर्नेछ तर धारा ९७ अनुसार सम्झाउँदा बउझाउदा पनि पति पत्नीको बीचमा मेलमिलाप गराउन नसकेमा र विवाह कायम राख्नुभन्दा सम्बन्ध विच्छेद हुन उपयुक्त देखेमा अदालतले निजहरुको सम्बन्ध विच्छेद गरिदिनुपर्नेछ ।

धारा ९९ अनुसार पतिको कारणबाट सम्बन्धविच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्धविच्छेद गर्नु अघि पति पत्नी बीच अंशबण्डा गर्न लगाउनु पर्नेछ । उक्त संहिताको १०२ अनुसार पति पत्नी बीच सम्बन्धविच्छेद हुँदा पत्नीले पाउने अंश वा खर्चको सम्बन्धमा पति पत्नी बीच कुनै लिखित सहमति भएकोमा सोही बमोजिम हुनेछ ।

पति र पत्नीबीच हुने सम्बन्धविच्छेद रहर भन्दा पनि बाध्यता नै हो जब पति र पत्नी सँगै बस्नुभन्दा पनि छुटिँदा जीवन सरल र सहज हुन्छ भने विवाहलाई अन्त्य गर्ने अवस्थामा पुग्दछन् हाल नेपाली समाजमा पनि सम्बन्धविच्छेद बढ्दै गएको देखिन्छ यसको प्रमुख कारण भनेको अत्याधिक तनावयुक्त जीवन, श्रीमान र श्रीमतीमा एक अर्काप्रति समय र विश्वासको अभाव र महिलाको घर र अफिस दुवै हेर्नुपर्ने बाध्यता र महिलामा आत्मनिर्भरता बढ्दै जानु परपुरुष वा परस्त्रीसंग सम्बन्ध स्थापित हुनु वैदेशिक रोजगारीका कारण सारिरिक आवश्यकता पूरा हुन नसक्नु लगाएतका कुरा हरु नै सम्बन्ध विच्छेद मुख्य कारण बन्ने र हुने गर्दछन्।

लेखक : समर्पण भट्टराई मजदुरका लागि मजदुर अभियानका अभियन्ता तथा नेपाली मजदुर एकता समाजका महासचिव हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय